औरैया,२ बैशाख। रौतहटमा स्वाब परीक्षणनै नगरी क्वारेन्टाईनमा बसेकाहरुलाई घर पठाईएको खुल्न आएको छ । जिल्लाको ईशनाथ नगरपालिकाको औरैयास्थित जनता मावि क्वारेन्टाइनबाट स्वाब परीक्षण नै नगरी ११ जनालाई घर पठाइएको खुलासा भएको हो ।
स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि गरेको १९ वर्षीय युवक बसेकै क्वारेन्टाइनबाट चैत २७ गते ११ जनालाई बिनापरीक्षण छाडिएको थियो । उनीहरु सबैलार्ई यापिड टेस्टिङ किटबाट परीक्षणका लागि मंगलबार क्वारेन्टाइन बोलाइएको छ ।
कोभिड–१९ को सम्भावित संक्रमण रोक्न नेपाल सरकारले आह्वान गरेको लकडाउनकै क्रममा भारतका विभिन्न सहरबाट घर फर्केका ईशनाथ ३ का ११ जनालाई क्वारेन्टाइनमा राखिएको थियो । नगरपालिकाका स्वास्थ्य संयोजक ईशराजलु खानले चैत १२ गते देखि क्वारेन्टाइनमा बसेका उनीहरुमा १५ दिनसम्म कुनै किसिमको लक्षण नदेखिएपछि घर पठाइएको बताए ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले जनकपुरबाट स्वाब परीक्षणका लागि लैजाने चिकित्सकको टोली समयमा नआएको र चैत २८ गते मात्र आएकाले अघिल्लो दिन नै प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई सोधेर ११ जनालाई घर पठाइएको जानकारी दिए । प्रजिअ घिमिरले क्वारेन्टाइनको प्रोटोकल(मापदण्ड) पूरा गरेको र साधनको अभावले टेस्ट गर्न नसकेको बताए ।
कोरोना संक्रमण देखिएका ईशनाथ ८ का १९ युवक भारतबाट पैदल आएर नेपाल भारत सीमाक्षेत्रको चोरबाटोबाट हुँदै चैत १६ गते घर पुगेका थिए । कोभिड–१९ को सम्भावित संक्रमण रोक्न भारत सरकारले तीन सातासम्म आह्वान गरेको ‘लकडाउन’ का कारण सवारी साधन बन्द भएपछि उनीहरु दिल्लीबाट चैत १५ गते औषधि बोकेको ट्रक चढेर बिहारको मोतिहारी आइपुगेका थिए । त्यहाँबाट नेपाल आउन सवारी नपाएपछि पैदल हिँडेर ईशनाथस्थित चैनपुर नाकाबाट चोरबाटो हुँदै नेपाल छिरेको प्रहरीले बताएको छ । संक्रमित युवकलाई आइतबार राति नै वीरगन्जस्थित नारायणी अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार भईरहेको छ ।


