काेराेना संक्रमित भेटिन थालेपछि वीरगन्ज नाकामा सतर्कता


वीरगन्ज ,५बैशाख: कोरोना संक्रमित भेटिन थालेपछि वीरगन्जस्थित नेपाल–भारत सीमामा रहेको हेल्थ डेस्कमा सतर्कता अपनाइएको छ ।

नाकाकाे हेल्थ डेस्कमा गत बिहीबार एकैसाथ दुई भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

गत वर्षको असोजमा ३ जना कोरोना संक्रमित भेटिएयता हेल्थ डेस्कमा पहिलो पटक गत बिहीबार दुई जनामा संक्रमण पुष्टि भएको हो ।

हेल्थ डेस्ककी प्रमुख डा. अनिषा महतोका अनुसार २०/२१ वर्षका ती दुई युवती भारत कोलकाताका थिए । ‘८/१० जना भारतीय युवती कोलकाताबाट नेपाल घुम्न आएका थिए,’ उनले भनिन्, ‘सबैको एन्टिजेन परीक्षण गर्दा २ जनामा कडाखालको कोरोना संक्रमण पुष्टि भएको थियो ।’ दुवैलाई भारत नै फिर्ता पठाइएको महतोले बताइन् ।

दुवैमा कोरोनाको कुनै लक्षण नदेखिए पनि संक्रमण पुष्टि भएपछि सतर्कता अपनाउन थालिएको उनले जानकारी दिइन् । ‘हामीले भारतको पश्चिम बंगाल तथा कोलकाताबाट आउनेलाई बढी ध्यानमा राखेका छौं,’ उनले भनिन्, ‘भारतमा कोरोना संक्रमण फेरि समुदायस्तरमा विस्तार भइसकेकाले सतर्कता बढाएका हौं ।’

कोलकाताबाट दैनिक एउटा रेल सीमावर्ती भारतीय सहर रक्सौल आउँछ । उक्त रेलका धेरै यात्रु नेपाली हुन्छन् । काम र घुमफिर गर्न भारतीय नागरिक पनि नेपाल आएका हुन्छन् । उक्त रेल रक्सौल आउने समय पारेर हेल्थ डेस्कमा सतर्कता अपनाउने गरिएको उनले बताइन् । ‘यसअघि सुरुमा स्क्रिनिङ र त्यसपछि एन्टिजेन परीक्षण गर्ने गरेका थियौं,’ उनले भनिन्, ‘अहिले भारतका ठूला सहर तथा टाढाबाट आउनेलाई सोझै एन्टिजेन परीक्षण गर्ने गरेका छौं ।’

पहिले दैनिक करिब १ सय ५० एन्टिजेन परीक्षण र तीन सय हाराहारीको स्क्रिनिङ गरिने गरेकोमा अहिले तीन सयभन्दा बढीको एन्टिजेन परीक्षण र १ सय ५० को स्क्रिनिङ गर्ने गरिएको महतोले जानकारी दिइन् ।साभार:कान्तिपुर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles