तराइमा हुस्सु तथा हिमाली भागमा हिमपात हुने, काठमाडौँमा चिसो

रौतहट । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तीसगढमा अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली तथा देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।

काठमाडौँ उपत्यकाको मौसम सुधारको क्रममा रहेको छ । शनिबार बिहानको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस रहेको मौसमविद् शरद पुडासैनीले बताएका छन् । उनका अनुसार रहेको आंशिक बदली सुधार हुँदै जाने क्रममा रहेको छ ।

आज वर्षाको सम्भावना भने छैन । बिहान ७ बजेको भिजिबिलिटी ४.५ किलोमिटर रहेको छ । चिसो भने बढ्दो क्रममा रहने छ ।

दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति भने देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

कोशी प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशभरिको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg