गुणस्तरहीन काम गरेको भन्दै सडक निर्माण कार्यमा स्थानीयको अबरोध

चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुर–गौर सडक खण्ड बिस्तार गरी सडक कालोपत्रको निर्माणधिन काम गुणस्तरहिन भएको भन्दै स्थानीयले काम बन्द गराएका छन् । नेपाल सरकार भौतिक पूर्वधार तथा यातयात मन्त्रालय, सडक विभाग , संघिय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय ईटहरी , सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरबाट उक्त सडक निर्माणको काम भैरहेको हो निर्माणाधिन सडक खण्डमा प्रयोग गरिएका निर्माण सामग्रीहरु मापदण्ड अनुसारको नभएको,पु्रानै उप्किएको कालोपत्रे समेत प्रयोग गरेर धमाधम काम गरेको आरोप रास्वपाका नगर सभापति उदय सापकोटा सुरेनको छ ।
सडक कालोपत्रका लागि आवश्यक वेश आधार नै मापदण्ड विपरित रहेको उनको छ ।

सडकको वेश आधारका लागि आवश्यक पर्ने गिट्टी, वालुवा र माटो लगायतका बिषयमा ध्यान दिनु पर्नेमा निर्माण कम्पनीले लापरवाही गरेका कारण काम बन्द गराईएको उनले बताए । सो सडक दिर्घकालिन अवधारणा अन्तर्गत पर्ने भएकाले बलियो र गुणस्तरीय बनाउनु पर्ने उनको तर्क छ । । सडक निर्माणको काम सम्झौता अनुसार नभएको र मापदण्ड बिपरित कार्य भएकाले गुणस्तरहिन भएको चन्द्रपुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष सहदेव के.सीले बताए ।
वडा अध्यक्ष के.सीले सडकको जग नै बलियो नभएपछि निर्माणाधिन सडक गुणस्तरीय नहुने भन्दै चिन्ता व्यक्त गर्दै सडकको बेश आधार मापदण्ड अनुसार नहुँदा कालोपत्रे टिकाउ नहुने भएकाले यसमा बिशेष ध्यान दिन आवश्यक रहेको बताए । १७ सय मिटरको उक्त सडक निर्माणका लागि १३ करोड ९३ लाख ६७ हजार ६४९ रुपैया (मु.अ.क र पि.एस.समेत) सम्झौता गरेको छ । सोहि सम्झौतmा अनुसार २०७९ माघ ४ गतेबाट काम गरी २०८१ माघ ३ गते सम्म सम्पन्न गर्नु पर्ने उल्लेख गरीएको छ । तर आश्रय निर्माण सेवा प्रा.लिले सडक निर्माणमा प्रयोग गरेको सामग्री वा कार्य प्रति चन्द्रपुरका युवा नेता नरेश लामिछानेले असन्तुष्टि व्यक्त गरे ।
सडक निर्माणको जिम्मा आश्रय निर्माण सेवा प्रा.लिले लिने तर काम प्रति जिम्मेवारी रुपमा गुणस्तरीय काम नगर्ने गरेको गुनासो व्यापक रुपमा बढ्दै गएको छ । सो निर्माण कम्पनीले बनाएका संरचना गुणस्तरीय नहुने गरेको गुनासो आएकाले चन्द्रपुरबासी सचेत बन्नु पर्ने लामिछानेले बताए । स्थानियका अनुसार आश्रय निर्माण सेवा प्रा.लिले सडक निर्माणमा आवश्यक गिट्टी नहाल्ने तर अन्यत्र विक्रि गर्ने गर्दछ । सडक निर्माणको नाममा अन्यत्र नदिजन्य सामग्री विक्रि बितरण गर्न पाईदैन् । तर सो निर्माण कम्पनीले यस्ता कार्य गरीरहेको पाईएकाले कारवाहि हुनु पर्ने माग स्थानियको छ ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg