गरुडा । रौतहटको गरुडा नगरपालिकाले कृषि बिजुली महसुल तिरिदिएको छ । किसानले सिंचाई प्रयोजनको लागी जोडेको कृषि मीटरको विद्युत महशुल पालिकाले भुक्तानी गरिदिएको हो ।
गरुडा नगरपालिकाका मेयर कन्थमणि प्रसाद जैसवालले यस आर्थिक बर्ष देखि कृषि मीटरको विद्युत महशुल नगरकोषबाट बुझाउन सुरु गरिएको बताए । “कृषिप्रधान देश त्यसमाथी तराई मधेस कृषिका लागि उर्भर भुमी भएकाले किसानलाई सहुलियतका लागि पालिकाले बिधुत महसुल तिरेको हो,मेयर जयसवालले भने।
वडा नम्बर १ देखि ८ सम्मका कृषकद्वारा सिंचाईका लागि जडान गरिएका कृषिमिटरको विद्युत महशुल १० लाख ३२ हजार ४७९ रुपैयाँ नेपाल विद्युत प्राधिकरण गौर शाखामा सोमवार बुझाईसकिएको छ, मेयर जयसवालले भने।”
छुटेका वडा ९ को सेवा केन्द्र अर्थात विद्युत प्राधिकरण शाखा चन्द्रपुर रहेकोले सोको भुक्तानी केही दिन भित्रै गरिने उनले जानकारी दिए ।
“पालिकाको आर्थिक वर्ष २०८१/०८२ को बजेटमा प्रस्तुत गरिएको प्रतिबद्धता अनुसार कृषि मीटरको विधुल महशुल भुक्तानी गरिएको हो, कृषि मिटर लिएका किसानहरूको पहिलेको बाँकि रहेको कृषि मिटरको बिल समेत समेटिएको छ,प्रमुख प्रशासकीय अधिकृत उस्ताख आलमले भने ।
गरुडा नगरपालिकाले कृषि तथा सिँचाइ क्षेत्रलाई बलियो र उत्पादनमुखी बनाउने निरन्तर प्रयास गर्दै आएको छ, आगामी दिनहरूमा पनि कृषकहरूको हितका लागि आवश्यक पहलहरू तीव्र गतिमा अघि बढाइने प्रशासकिय अधिकृत आलमले भने ।”
यसअघि जिल्लाको मौलापुर र फतुवा बिजयपुर नगरपालिकाले नगरवासीको घरायसी र कृषी प्रयोजनको लागी उठ्ने सम्पूर्ण विद्युत महशुल भुक्तानी गर्दै आएका छ्न ।


