सर्लाही। सर्लाहीमा प्रहरीले तस्करसंग पैसाको मोलमोलाई गरेको अडियो बाहिरिएको छ । तस्करसँग लेनदेन गरेको अडियो बाहिरिएपछि ईलाका प्रहरी कार्यालय हिरापुर सर्लाहीमा कार्यरत सई बैधनाथ दास निलम्बनमा परेका छन ।
सई दासले आफ्ना घुमुवा प्रहरी जवान सन्तोष यादव मार्फत तस्कर गरेको त्रिपक्षीय घुस लेनदेनको अडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीले उनलाई शुक्रबार निलम्बन गर्नका लागी मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर हुँदै प्रहरी प्रधान कार्यालयमा सिफारिस पठाएको हो ।
सर्लाहीका नामुद तस्कर राजिव यादवसंग मिलेर तस्करी गराउन सघाउनको लागि सई दासले घुमुवा जवान यादव मार्फत १८ हजार रुपैयाँ माग गरेका थिए । सई दास यसअघिपनि पर्सा जिल्लामा कार्यरत रहँदा २०७७ साल मंसिर ५ गते तस्कर सँग घुस लिएको आरोपमा निलम्बनमा परेका थिए ।
दासको करिब एक वर्षपछि पाच वर्ष बढुवा रोक्का गरि पुनः कार्यवाही फुकुवा भएर जागिरमा जोडिएपनि आफ्नो तस्करसंगको हिमचिम छाडेका थिएनन् । सई दास करिब ८ महिनादेखि हिरापुरमा आफ्नो प्रभाव जमाएर बसेका थिए । हिरापुर भारतसंग सिमा जोडिएको नाका भएकाले प्रहरी र तस्करबिच मलिेर तस्करी हुने गरेको स्थान हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी सरोज राईले सई दासलाई निलम्बन सिफारिस गरिसकेको पुष्टि गर्दै शुक्रवार बिहान तस्कर र सई बिचको अडियो बाहिरिएपछि प्रमाण नष्ट हुन नदिन सई दासलाई नेपाल प्रहरी मधेस प्रदेश कार्यालय हुँदै प्रहरी प्रधान कार्यालयलाई निलम्बनको सिफारिस पठाएको र उनको ठाउँमा अर्को सई पठाउने तयारी भइरहेको बताए ।


