हरिपूर्वा । सर्लाहीको हरिपूर्वामा गएराति गोली प्रहार गरी एक जनाको हत्या भएको छ । हरिपूर्वा नगरपालिका–६, का ४० वर्षीय रामपुकार यादवको अज्ञात व्यक्तिले गोली प्रहार गरी हत्या गरेका हुन् । गएराति ८ बजेतिर घरमा छरछिमेकीसँग कुराकानी गरेर बसिरहेका बेला मोटरसाइकल चढेर आएका दुई जना व्यक्तिले यादबलाई गोली प्रहार गरी फरार भएका थिए ।
टाउकोमा गोली प्रहार हुँदा गम्भीर घाइते भएका रामपुकारलाई उपचारका लागि महोत्तरीको पर्सास्थित एक स्वास्थ्य संस्थामा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतक रामपुकारको शव आज बिहानसम्म सोही अस्पतालमा रहेको छ ।
प्रहरी पुगेर अहिले बिहान घटनाको प्रकृति मुचुल्का उठाउने काम भइरहेको सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले बताए । प्रकृति मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याउने तयारी रहेको छ ।
हरिपूर्वा नगरपालिका ६ का वडाध्यक्ष रामसोगारथ राय यादवका अनुसार गोली हानेर हत्या गरिएका रामपुकार गाउँघरमा खेती किसान गर्ने र समस्यामा परेका व्यक्तिलाई ऋण लगानी गर्ने गर्थे । उनले केही समय सदरमुकाम मलङ्गवाको एक निजी विद्यालयमा अध्यापन पनि गराएका बुझिएको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी राईका अनुसार रामपुकारलाई गोली प्रहार गरेर फरार भएका व्यक्ति सवार मोटरसाइकल गएराति नै हरिपूर्वा नगरपालिका–७, मा दुर्घटनामा परेको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका र उनलाई लालबन्दीमा उपचार गरी थप उपचारका लागि जनकपुर लगिएको डिएसपी राईले बताए । प्रहरीले ति व्यक्तिको परिचय भने गोप्य राखेको छ ।
घाइते व्यक्ति बोल्न सक्ने अवस्थामा छैनन् ।गोली प्रहार गर्नेमध्येका अर्का व्यक्ति भने फरार रहेका प्रहरीले बताएको छ । प्रहरीले गोली प्रहार गर्ने व्यक्तिहरु सवार दुर्घटनामा परेको मोटरसाइकल बरामद गरेको छ ।
घटनाको सम्वन्धमा थप अनुसन्धान भइरहेको डिएसपी राईले बताएका छन् ।


