रौतहट , ८ भाद्र। चन्द्रपुर नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा रौतहट जिल्लाभरमा उत्कृष्ट भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को नतिजाअनुसार जिल्लाका १८ पालिकामध्ये चन्द्रपुरले सबैभन्दा बढी ७४.५० अङ्क हासिल गर्दै पहिलो स्थानमा परेको हो।
त्यस्तै, गौर नगरपालिका ७३ अङ्क सहित दोस्रो, गरुडा नगरपालिका ७१.७५ अङ्कसहित तेस्रो स्थानमा परेका छन्। अन्य पालिकामध्ये राजदेवीले ६६.७५, राजपुरले ६२, बौधीमाईले ६१, गुजराले ५८.२५, वृन्दावनले ५६.५०, इशनाथले ५६.२५, दुर्गा भगवतीले ५४, परोहाले ५०.२५, माधवनारायणले ४९.२५, देवाही गोनाहीले ४७.२५ र मौलापुरले ४३.२५ अङ्क प्राप्त गरेका छन् भने सबैभन्दा कम ३५.२५ अङ्क फतुवा विजयपुर नगरपालिकाले पाउदा गढिमाई, कटहरिया र यमुनामाई गाउँपालिकाले भने यो वर्षको लिजा मूल्याङ्कनमा सहभागिता नै जनाउन सकेनन्।
चन्द्रपुर नगरपालिकाले शासकीय प्रबन्धमा ९, संगठन तथा प्रशासनमा ६.५०, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ७.५०, वित्तीय व्यवस्थापनमा ७.५०, सेवा प्रवाहमा १०, न्यायिक कार्य सम्पादनमा ७, भौतिक पूर्वाधारमा ९, सामाजिक समावेशीकरणमा ८.५०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ७ र सहकार्य तथा समन्वयमा २.५० अङ्क हासिल गरेको छ।
प्रचलित कानुनको पालना गर्दै जनप्रतिनिधिको सहयोग एवम् सहकार्य तथा कर्मचारीहरुले आफ्नो पदिय जिम्मेवारी अनुसारको काम पूर्ण लगनका साथ गर्ने गरेका कारण चन्द्रपुर नगरपालिका जिल्ला भरिमा उत्कृष्ट पालिका हुन सफल भएको चन्द्रपुरका मेयर सन्जय काफ्लेले बताए।


