चरीकोट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं दोलखाका उम्मेदवार अजयबाबु शिवाकोटीले रामेछापको मन्थली नजिकै भएको बस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । मङ्गलबार काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको अरनिको यातायातको बस तामाकोशी नदीमा खस्दा भएको ठूलो मानवीय क्षतिले आफूलाई मर्माहित बनाएको उनले बताए ।
यस दुर्घटनामा दोलखा भीमेश्वर निवासी केही आफन्तहरूसमेत परेको खबरले आफू स्तब्ध भएको उल्लेख गर्दै उनले दिवंगतहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
शिवाकोटीले दुर्घटनाका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सरकारसँग पीडित परिवारलाई उचित राहत तथा क्षतिपूर्ति प्रदान गर्न माग गरेका छन् । उनले उद्धार र सहयोग कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाउनसमेत सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनले भने,’काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस तामाकोशी नदीमा खस्दा भएको दुःखद दुर्घटनाले मन अत्यन्त मर्माहित भएको छ। दिवंगतहरूप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। दोलखा भीमेश्वर निवासीसमेत केही आफन्तहरू यस घटनामा परेको खबरले स्तब्ध बनाएको छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। सरकारले पीडित परिवारलाई उचित राहत तथा क्षतिपूर्ति प्रदान गरी उद्धार र सहयोग कार्य प्रभावकारी रूपमा अगाडि बढाओस् ।’
काठमाडौँबाट ओखलढुङ्गाका लागि छुटेको प्रदेश ०३-०१-००५ ख ९९७५ नम्बरको बस मन्थली नगरपालिका-६ मसानटारमा सडकबाट करिब एक सय मिटर तल नदीमा खसेको थियो।
यस दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने बसका चालकसहित ८ जना घाइते भएका छन् । घाइतेहरूको खुर्कोटस्थित शुभ जीवन अस्पताल, मन्थली र तामाकोशी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ भने नदीमा बेपत्ता हुन सक्ने अन्य यात्रुहरूको खोजी र उद्धार कार्यलाई निरन्तरता दिएको छ ।


