द्धन्द्धकालमा बेपत्ता भएका ‘काले’ १७ वर्षपछि घर फिरे

825

बझाङ– माओवादी द्धन्द्धका बेला बेपत्ता भएका रोल्पाका प्रतापसिंह घर्ती ‘काले’ झण्डै १७ वर्षपछि घर फिरेका छन् । युद्धका क्रममा दिदीसँगै युद्धमा होमिएका कालेलाई सानै उमेर भएकाले माओवादीले सँगै लिएर हिँडेनन्, घर फर्किन पनि बाटो चिनेनन् । चार/पाँच वर्षको उमेरमा घरबाट हराएका उनलाई त्यति बेलाको केही कुरा पनि राम्रोसँग याद छैन ।

मात्र यति थाहा छ माओवादीले उनकी दिदीसँगै उनलाई पनि आन्दोलनमा लगेका थिए । यो विसं २०६० ६१ कुरा हो । तत्कालीन नेकपा माओवादीले उनकी दिदी मनकुमारीसँगै उनलाई पनि आफ्नै फौजमा लगे । कति यातना दिए, कति गाली खानुपर्‍यो त्यो क्षण सम्झिदा पनि अहिले उनका आँखा रसाउछन् । सानो उमेरमै घरबाट टाढा गएपछि उनले घरको माया नै बिर्सिसकेका थिए ।

सानै उमेरमा क्रान्तिकारीको झण्डा ओढ्नुपर्दा उनले आमाबुबाको माया कस्तो हुन्छ पत्तै पाएनन् । तत्कालीन माओवादी र नेपाली सेनाबीच रोल्पाको लिबाङ्गमा भएको दोहोरो भिडन्तमा आफ्नी दिदी बेपत्ता भएपछि उनले दिदीको माया पनि गुमाए । त्यसपछि उनी एकदमै एक्लो भए, आफ्नो भन्ने कोही पनि रहेन । दिदीको उमेर १४/१५ वर्षको हुँदा प्रतापसिंह घर्ती काले चार / पाँच वर्षका थिए । दिदी बेपत्ता भएपछि उनी एक्लै भए । सानो उमेर भएका कारण उनलाई माओवादीले आफूसँगै राखेनन् । तर आफ्नो घर जाने बाटो भने पत्ता लगाउन सकेनन् । उनले आफ्नो घरसम्म पुग्नका लागि धेरै प्रयास गरे पनि कहिल्यै घर पत्ता लागेन ।

‘धेरैसँग हार गुहारसमेत गरेको थिएँ तर कसैले पनि मलाई मेरो घर पुर्‍याइदिन चाहेनन् उल्टै आफूले पाल्ने र आफैसँग बस भनेर भन्थे’, उनले पुराना दिनहरु सम्झिँदै भने, ‘मैले सबै कुराको आशा मारे पनि घर जाने आशा भने कहिल्यै पनि मारेको थिइनँ । एक दिन त घर पुगिहाल्छु नि भन्ने लाग्थ्यो ।’ सडकमा जे पायो त्यही खाँदै पेट पाल्न थाले । बिस्तारै उनी ठूलो भए कसैले होटलमा भाँडा माझ्ने काम लगाइदिए । त्यो कुन ठाउँ थियो अहिले उनीलाई याद छैन । त्यसपछि बिस्तारै उनले मान्छे चिन्न थाले ।

उमेरसँगै ताकत बढ्यो अनि थाले मजदुरी गर्न बिस्तारै उनी बालापनबाट किशोरावस्थामा प्रवेश गरे । उनी कामको लागि जिल्ला जिल्लामा पुग्न थाले । कामकै सिलसिलामा बझाङको खप्तड छान्ना गाउँपालिकामा पुगेपछि उनको भेट गाउँपालिकाका अध्यक्ष वर्कबहादुर रोकायासँग भयो । कालेले आफ्नो जिल्ला, गाउँ सबै बिर्सिसकेका थिए । उनलाई आफ्नो घर नजिकैको चिउरी घाँट खोलाको याद थियो । खोजी गर्दै जाँदा रोल्पाको दुर्गम गाउँ मणि गाउँपालिका–१ एक जबाङ गाउँका भएको पत्ता लाग्यो ।

वर्षौसम्म घरबाट छोडिएका घर्ती आफ्नो घर जान पाउने भए । गाउँपालिकाका अध्यक्षसहितको टोलीले शनिबार गाउँपालिकाकै खर्चबाट उनलाई उनको घरसम्म पु¥याइ दिए । गाउँपालिकाका अध्यक्षले जिल्ला प्रशासन कार्यालय बझाङलाई यसबारे जानकारी गराएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए । जिल्ला प्रशासन कार्यालय बझाङले रोल्पा जिल्ला प्रशासनलाई जानकारी गरायो । त्यसपछि त उनको घरसमेत पत्ता लाग्यो ।

सानैमा घरबाट बेपत्ता भएको छोरा जवान भएर घर फर्किएपछि उनको परिवारमा एकाएक खुशी छायो । उनका बुबा खलवीर घर्तीले त छोराको आश पनि मारिसकेका थिए । ‘भिडन्तमा परेर छोराको मृत्यु भइसकेको होला भन्ने सोचेका थियौँ,’ उनले आँखा रसिलो पार्दै भने, ‘हामीले छोराको खोजी त धेरै गरेका थियौ ।’ प्रताप घर्तीलाई उनको घरसम्म पु¥याउन जानुभएका नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा बझाङका सचिव शैलेन्द्र रोकायाले भने, ‘हामीले प्रताप घर्तीलाई उनकै घरसम्म पु¥यायौं ।’ घरमा पुग्दा छिमेकीहरु सबै जम्मा भए र निकै स्वागतसमेत गरे ।
प्रतापको घर अहिले पनि खरले नै छाएको छ ।

हामी जस्ता सर्वहाराका लागि लड्दै छु भनेर माओवादीले त्यत्रो आन्दोलन गरे । प्रतापका बुबाले टेलिफोनमा कुरा गर्दै दुखेसो पोखे । परिवर्तन त हुने खानेका लागि मात्रै रहेछ । हामी जस्ता दिनदुखीको अवस्थामा भने केही फरक भएको छैन । प्रतापकी दिदी मनकुमारी युद्धकालमा बेपत्ता भएकी भन्ने हल्ला थियो । तर उनका बुबा खलवीर घर्तीले मनकुमारी पनि अहिले जीवितै छिन् । उनी त्यति बेला भागेर भारतमा गएकी र उतै विवाह गरेको उनले बताए । रासस

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg