काठमाडौं। मे ३० देखि जुलाई १४ तारिखसम्म इङ्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको रौनकता चुलिएको छ । विश्वकप कस्ले जित्ला भन्ने अड्कल बाजी पनि सुरु भएको छ । क्रिकेटका पण्डितहरुले विश्वकप जित्ने टोलीको आआफ्नै हिसावले ब्याख्या र अनुमान गरिरहेका छन् ।
यस पटकको विश्वकपमा आयोजक इङल्यान्ड सहित भारत, पाकिस्तान, अस्ट्रेलिया, श्रीलंका, पाकिस्तान, दक्षिण अफ्रीका, वेस्ट इन्डिज, बंगलादेश र अफगानिस्तान गरि १० टोलीको सहभागिता रहेने छ ।
अघिल्लो विश्वकप २०१५ मा भएको थियो । त्यसपछि अहिलेसम्म आइपुग्दा यो ४ वर्षको अवधिमा आइसीसीले ७ नियम बदलेको छ । यी नियम एकदिवसीय क्रिकेटमा त लागू भइसकेका छन् तर विश्वकपजस्तो ठूलो प्रतियोगितामा पहिलोपटक यो नियम लागू हुँदैछ ।
१. अम्पायरलाई ‘रेडकार्ड’ दिने अधिकारः फुटबलमा रेडकार्ड दिएर खेलाडीलाई मैदानबाहिर निकालेजस्तै अब क्रिकेटमा पनि अम्पायरले खेलाडीलाई बाहिर निकाल्न सक्नेछ । यदि अम्पायरलाई खेलाडीले खराब व्यवहार गरेको लाग्यो भने त्यो खेलाडीलाई बाहिर निकाल्ने अधिकार हुनेछ ।
२. बल २ पटक बाउन्स भएमा नो बल हुनेछः कुनै बलरले फालेको बल २ पटक बाउन्स भएर ब्याट्सम्यानसम्म पुग्यो भने यो नो बल हुनेछ । यसअघि यस्तो बलमा नो बल दिने नियम थिएन । नो बलमा ब्याट्सम्यानले फ्रि हिट पनि पाउनेछन् ।
३. लेग बाइ र बाइको रन छुट्टै जोडिनेछः पहिले यदि कुनै बलरले नो बल फालेमा बाइ वा लेगबाइको रन नो बलमै जोडिन्थ्यो तर अब बाइ र लेगबाइको रन छुट्टै जोडिनेछ ।
४. ब्याटको आकार निश्चित हुनेछः १९७० देखि अहिलेसम्म आउँदा ब्याटको आकारमा धेरै परिवर्तन भए । अब भने ब्याटको आकार निश्चित हुनेछ । ब्याटको चौडाइ १०८ मिलिमिटर, मोटाइ ६७ मिलिमिटर र कुनामा ४० मिलिमिटर भन्दा धेरै हुनु हुँदैन । अम्पायरसँग यसको नाप लिने यन्त्र हुनेछ र आवश्यक परेमा जाँच गरिनेछ ।
५. ब्याट लाइनमा भए पनि रनआउट हुनेछः पहिले रनआउट र स्टम्पिङको हकमा ब्याट क्रिजको लाइनमा भए नटआउट हुन्थ्यो तर अब लाइनमा भएमा आउट हुनेछ । ब्याट्सम्यानको ब्याट वा खुट्टा क्रिजको लाइनको भित्र भएमा मात्र नटआउट हुनेछ ।
६. हेल्मेटबाट आउट, हातले छुँदा नटआउटः यदि ब्याट्सम्यानले खेलेको बल कुनै फिल्डरको हेल्मेटमा लागेर फेरि उड्यो र कुनै फिल्डरले क्याच लिए ब्याट्सम्यान आउट हुनेछ । पहिले यस्तो नियम थिएन । अर्कोतर्फ ब्याट्सम्यानले स्टम्पमा लाग्ने गरी गएको बललाई हातले रोक्न पाउनेछ । यसरी हातले रोक्दा ब्याट्सम्यान आउट हुने छैन ।
७. अम्पायर्स कलमा रिभ्यू खेर जाँदैनः यदि ब्याट्सम्यान वा फिल्डिङ टिमले रिभ्यू लिँदा अम्पायर्स कलका कारण अम्पायरको फैसला कायम रहेमा टिमले रिभ्यू गुमाउने छैन । यसअघि अम्पायर्स कलमा पनि रिभ्यू गुमाउनुपथ्र्यो ।