काठमाण्डौ। आगामी वर्ष अस्ट्रेलियामा हुने टी-२० विश्वकप क्रिकेट खेल्ने नेपालको सपना चकनाचुर भएको छ। आइसिसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत महत्वपूर्ण खेलमा सिंगापुरसँग ८२ रनले पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना अधुरै भएको हो। नेपाललाई पराजित गरेसँगै सिंगापुर भने आगामी अक्टोबरमा युएईमा हुने विश्व छनोटमा पुगेको छ। विश्व छनोटमा १४ टिमबीच प्रतिस्पर्धा हुनेछ। जहाँबाट ६ टिमले आगामी वर्ष अस्ट्रेलियामा हुने विश्वकपमा भाग लिन पाउनेछन्।
आइतबार सिंगापुरले दिएको १९२ रनको विशाल पछ्याएको नेपालले खराब ब्याटिङ गर्यो। नेपाल १५ ओभरमा १०९ रनमै अलआउट भयो।
नेपालका लागि ओपनिङमा आएका ज्ञानेन्द्र मल्लले सबैभन्दा बढी ३९ रन जोडे। उनले २१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। त्यसअघि कप्तान पारस खड्का १० बलमा १२ रन जोडेर आउट।
पारस र ज्ञानेन्द्र ७ ओभरभित्र आउट भएपछि दबाबमा परेको नेपालले लगातार विकेट गुमाएको थियो।
यस्तै ७ रन बनाएर खेलिरहेका शरद भेषवाकारले लामो प्रहार जनक प्रसादले बाउन्ड्री उफ्रिएर एक हातले क्याच गरेपछि नेपाल संकटमा परेको थियो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २३ रन र सोमपाल कामीले रनआउट हुनुअघि ११ रन जोडे।
अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।
नेपालको इनिङ ध्वस्त पार्न सिंगापुरका सेलाडेन विजयकुमारले ४ विकेट लिए। उनले २५ रन खर्चिए।
सिंगापुरको इन्डियन एसोसिएसन मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर उत्कृष्ट लयमा देखियो। सिंगापुरले २० ओभरमा ६ विकेटको क्षतिमा १९१ रन जोडेको हो।
सिंगापुरका लागि टिम डेभिडले सबैभन्दा बढी ७७ रन जोडे। उनले ४३ बलमा ८ चौका र ३ छक्का प्रहार गरे।
त्यसअघि आक्रामक ब्याटिङ गरेका ओपनर रोहन रंगराजन ४९ रनमा आउट भएका थिए। अभिनास बोहराको बलमा आउट हुनुअघि उनले ३३ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। उनका ओपनिङ पार्टनर चन्द्रमोहन भने ७ रनमा आउट भए।
मनप्रित सिंहले ४२ रनको योगदान दिदा सिंगापुरको इनिङले गति लियो। उनले २७ बलमा ३ चौका र २ छक्का प्रहार गरे।
बलिङमा नेपालका अभिनास बोहराले ४ विकेट लिए। उनले ४ ओभरमा ३५ रन खर्चिए।
करण केसीले २ विकेट हात पारे। उनले ३ ओभरमा २९ रन खर्चिए।
४ ओभर बलिङ गरेका बसन्त रेग्मी महँगा साबित भए। विकेट लिन नसकेका बसन्तले ५४ रन दिए। जसमा बसन्तले ५ चौका र ३ छक्का बेहोरे। सन्दीप लामिछानेले ३ ओभरमा ३४ रन दिँदा विकेट लिन सकेनन्।