चालकसंग चिया कार्यक्रम पुनःसञ्चालन

चन्द्रपुर,०४ भदौ ।
सवारी दुर्घटना न्यूनीकरण गर्न रौतहट प्रहरीले पूर्व–पश्चिम राजमार्गको चन्द्रपुर खण्डमा राती चल्ने लामोदुरीका सवारी रोकी चालकसंग चिया कार्यक्रम पुनः सञ्चालन गरेको छ ।
पूर्वपश्चिम राजमार्गको चन्द्रपुर नगरपालिका–१ बागमती खण्डमा जिल्ला ट्राफिक र इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरले राती चल्ने सवारी दुर्घटना न्यूनीकरण गर्न उक्त कार्यक्रम सञ्चालन गरेको हो ।
वर्षा र डुबानले प्रभावित बनेको उक्त कार्यक्रम आइतबारबाट पुनः सञ्चालनमा आएको छ ।
राती चल्ने सवारी दुर्घटनाको मूल कारण चालकलाई निन्द्रा लाग्नु हो भन्ने ठहर गर्दै रौतहट प्रहरीले पूर्व–पश्चिम चल्ने लामो दुरीका सवारी रोकी चालकलाई चिया खुवाउने, ट्राफिक ज्ञान दिने, दुर्घटनाको जोखिम कम गर्ने विषयमा कुराकानी गर्ने एवं केही बेर ख्याल ठट्टा गरी तनावरहित बनाई पठाउने गरेको जिल्ला ट्राफिक कार्यालय चन्द्रनिगाहपुरका निमित्त प्रमुख प्रहरी नायव निरीक्षक रामनारायण यादवले बताए ।
सुदूर पश्चिमबाट पूर्व हिडेका सवारी हुन् वा पूर्वबाट सुदूर पश्चिम हिडेका हुन् दुबै थरीका यात्रामा रौतहट केन्द्र पर्ने भएकोले यहा“ केही बेर थकान मारेर मात्रै सवारी अघि बढ्छ । यसै समयको सदुपयोग गरी प्रहरीले चालकसंग चिया कार्यक्रम सञ्चालन गरी सवारी दुर्घटना न्यूनीकरण प्रयासको थालनी गरेको हो ।
राजमार्गमा यस प्रकारको कार्यक्रम देखेर चालक र यात्रु अचम्मित छन् । चालकलाई चिया खुवाएर ट्राफिक ज्ञान प्रदान गरी सचेतना जगाउने कार्यले पक्कै पनि दुर्घटना न्यूनीकरण कार्य प्रभावकारी हुने काठमाडौं–काकरभिट्टा चल्ने रात्रीबसका चालक जितेन्द्र श्रेष्ठको दावी छ ।
प्रहरीले राजमार्ग हुदै पूर्व पश्चिम चल्ने छोटा दुरीको सवारी रोकेर चालकको रक्तचाप परीक्षण गर्ने समेतको कार्यक्रमलाई निरन्तरता दिएको छ । चालकमा उच्च रक्तचाप देखिए केही बेर रोकेर पानी खुवाई आराम गर्न लगाई सामान्य भएपछि मात्रै पठाउने गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरीक्षक कवित कटवालले बताए ।
उनकाअनुसार उक्त कार्यले दुर्घटनाको जोखिम कम गरेको छ । असार महिनाको हालसम्म पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुर खण्डमा गम्भिर प्रकृतिका कुनै पनि दुर्घटना भएको छैन ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg