जनकपुर १० भदौ । निर्माणाधीन घरको छतबाट खसेर एक मजदुरको मृत्यु भएको छ भने अर्का मजदुर गम्भीर घाइते भएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका १३ स्थित रामसोगारथ साहको निर्माणाधीन घरको छतबाट खसेर सप्तरीको शम्भुनाथ नगरपालिका ६ का ४० वर्षीय मजदुर नन्दु मण्डलको मृत्यु भएको छ । अर्का मजदुर सोही ठाउँका ३० वर्षीय हरिकान्त मण्डल छतबाटै लडेर गम्भीर घाइते भएका छन् ।
घरको छतबाट खसेर मजदुर मण्डलको टाउँको र छात्तीमा गम्भीर चोट लागेका कारण घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभएको छ । उहाँका अनुसार गम्भीर घाइते भएका अर्का मजदुरको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ ।


