महोत्तरी ११ भदौ । महोत्तरीको भंगहामा बोक्सी आरोपमा एक महिलालाई मलमूत्र खुवाउने दुई महिला जेल चलान भएका छन् ।
गत श्रावण ३२ गते भंगहा नगरपालिका ४ रामनगर बिर्ताकी ३८ वर्षकी चन्दनदेवीलाई बोक्सी आरोपमा मलमूत्र खुवाएको आरोपमा स्थानीय जागेश्वरीदेवी दनुवार र ईन्दुदेवी दनुवारलाई महोत्तरी जिल्ला अदालतको आदेशमा सोमबार पूर्वपक्षका लागि कारागार चलान गरिएको हो ।
अदालतको बेन्च नं. १ बाट जिल्ला अदालत महोत्तरीका प्रमुख तथा न्यायाधीश विष्णु सुवेदीले पुर्पक्षका लागि थुनामा राख्नु भन्ने आदेश दिएको स्रेस्तेदार मनोज श्रीवास्तवले बताउनुभएको छ ।
उहाले अदालतको आदेश भएलगतै दुवै आरोपीलाई जलेश्वर कारागार पठाइएको जानकारी दिनुभएको छ ।
खेतबाट घाँस लिएर फर्किदै गरेकी चन्दनदेवीलाई गत साउन ३२ गते साँझ स्थानीय चारजना महिलाले बाटोमा घेरेर लछारपछार गर्दै बोक्सी आरोपमा मलमूत्र खुवाएका थिए । घटना लगतै २ जना फका्रउ परेका थिए भने २ जना अझै फरार छन् ।
फरार रहेका उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।