चन्द्रपुर १३ भदौ । रौतहटको चन्द्रपुर नगरपालिकाले बाटो अतिक्रमण गरेर बनाईएका घर टहरा भत्काएर बाटो फराकिलो पार्न सुरु गरेको छ ।
नगरपालिकाको वडा नम्बर ५ अन्तर्गतको अतिक्रमित सडक फराकिलो बनाउन संरचना भत्काउन नगरपालिकाले सुरु गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बलराम ढकाल, वडा नम्बर ५ का वडाअध्यक्ष सञ्जय काफले र ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको सहयोगमा तल्लो बजार बाट पुर्बटोल जाने प्रबेशद्धार अतिक्रमण गरेर बनाईएका संरचना भत्काएर बाटो फराकिलो बनाईएको वडाध्यक्ष काफ्लेले बताए । सो सडकको दुबैतर्फ घर बनेपछि आवातजावतमा समस्या हुदै आएको र दोहोरो सवारी साधन नचल्ने अवस्था थियो ।
सडक फराकिलो भएपछि त्यसक्षेत्रमा आवातजावत गर्ने नागरिकहरु लाभान्बित हुने विश्वास अध्यक्ष काफ्लेको छ । सम्बृद्ध वडाको निर्माणमा अध्यक्ष काफलेको क्रियाशिलताले यस क्षेत्रका नागरिक हर्षित छन । सो सडक अबको एक महिना भित्र कालोपत्रे भैसक्ने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको टिफर, स्काभेटर प्रयोग गरेर सडक फराकिलो पारिएको चन्द्रपुर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत बलराम ढकालले बताए । नगरसभा बाटनै चन्द्रपुर नगरपालिकाको सडक २० मिटर कायम गरिएको भएपनि सो अनुरुप अझै हुन सकेको छैन । सम्बृद्ध नगर र नागरिकस्तरको चेतना उकास्न नगरपालिका क्रियाशिल रहेको अधिकृत ढकालको भनाई छ । अतिक्रमण हटाउन नसक्दा नगरपालिकाको बिरोध हुंदै आएको थियो ।