चन्द्रपुर ८ असोज । सरकारी कागजात कीर्ते गरेको आरोपमा एक इन्जिनियर सहित पूर्वसांसद जेल चलान भएका छन् ।
पूर्वसांसद तथा राजपा नेपालका केन्द्रीय सदस्य विश्वनाथप्रसाद यादव (बिपी यादव) र राजपाकै अर्का केन्द्रीय सदस्य हरिनारायण मण्डल थुनामा रहेका बेला उही मुद्दामा पूर्वाधार तथा यातायात निर्देशनालय जनकपुरका सिनियर डिभिजनल इञ्जिनीयर राजकुमार गोइत जेल चलान भएका छन् ।
उच्च अदालत जनकपुरले थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न दिएको आदेशअनुसार सोमबार अदालतमा हाजिर भएका गोइतलाई राजविराज कारागारमा पठाइएको अदालतले जनाएको छ ।
जिल्ला अदालतले गत जेठ ६ गते उनलाई चार लाख धरौटीमा पुर्पक्षका लागि तारेखमा रिहा गरेको थियो । सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका तथा छिन्नमस्ता गाउँपालिकामा प्रदेश नं २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा सञ्चालित सडक निर्माण योजनाका लागि कीर्ते गरी उपभोक्ता समिति बनाएको तथा सरकारी कार्यालयको कागजात कीर्ते गरेको अभियोगमा पूर्वसांसद यादव र मण्डल गत वैशाख ५ गते नै पक्राउ परेका थिए ।
पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका सिनियर डिभिजनल इञ्जिनीयर रहेका बेला गोइतले यादव र मण्डलसँग मिलेर सरकारी कार्यालयको कागजात कीर्ते गरी भ्रष्टाचार गरेको अभियोग लागेको छ ।