रौतहट १० असोज । गत आर्थिक वर्ष २०७५/७६ मा सञ्चालन भएर कार्य सम्पन्न भई रकम भुक्तानी हुन बाँकी रहेका योजनाहरूको अनुगमन गर्नका लागि रौतहटमा प्रदेश २ सरकारले अनुगमन टोली खटाएको छ ।
प्रदेश सरकारको प्रदेश सभाले बाँकी रहेका योजनाको रकम भुक्तानीका लागि गठन गरेको अनुगमन टोलीले बुधबार देखी रौतहटमा स्थलगत अनुगमन थालेको हो ।
प्रदेश सभाले खटाएकोे अनुगमन टोलीले बुधबार रौतहटको माधवनारायण नगरपालिका अन्तर्गत सञ्चालित विभिन्न योजनाहरूको स्थलगत अनुगमन निरीक्षण गरेर बिहिबार अन्य स्थानीय तहको समेत अनुगमन गरेको छ ।
गत वर्षमा सामाजिक विकास मन्त्रालयबाट रौतहटमा ८३ वटाभन्दा बढी योजनाहरू सञ्चालन भएका थिया । उपभोक्ता समितिमार्फत सञ्चालन भएको योजनाका कामहरू असास मसान्तमै सम्पन्न भए पनि प्रदेश सरकारले अझै भुक्तानी गर्न नसक्दा उपभोक्ता समिति मारमा परिरहेका छन् ।
रकम भुक्तानी गर्ने सम्बन्धमा विवाद भएपछि सरकारले छानबिनका लागि एउटा अनुगमन समिति गठन गरेको थियो । गठन गरिएको अनुगमन टोलीले बुधबार,बिहिबार र शुक्रबार सामाजिक विकास मन्त्रालयबाट सञ्चालन भएको रौतहटको सबै योजनाहरूको अनुगमन निरीक्षण गरेर त्यसको प्रतिवेदन प्रदेश सभालाई बुझाउने सामाजिक विकासमन्त्री नवलकिशोर साहले जानकारी दिएका छन् ।