गौर,२७ असोज । रौतटहमा एक युवकको गोली हानी हत्या भएको छ । जिल्लाको इशनाथ नगरपालिका औरैयामा गोली हानी हत्या भएको हो । भारतीय नम्बरको मोटरसाइकलमा बीचमा राखेर ल्याएको एक युवकलाई गोली प्रहार गरी सो मोटरसाइकल पुन भारततर्फ फर्किएको स्थानीयले बताएका छन् ।
इशनाथ नगरपालिका ६ घिउराबाट जयनगरतर्फ जाने बाटोमा क्रान्ति प्राथमिक विद्यालय स्कूल नजिकै एक युवकमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक नविन कार्कीले बताए । अज्ञात समूहले प्रहार गरेको गोली लागि मृत्यु भएका युवकको पहिचान खुल्न सकेको छैन । भारतबाटै आएका व्यक्तिहरूले कुनै भारतीय नागरिकको हत्या गरेर फरार भएको हुन सक्ने प्रहरीको आशंका छ ।
मृतक युवक अन्दाजी २६ बर्षका रहेका छन् । मृतकको साथबाट उनको पहिचान हुने कुनै वस्तु फेला नपरेको र हत्यामा प्रयोग भएको गोलीको खोखा अत्याधुनिक हतियारको भएको प्रहरीले जनाएको छ ।