चन्द्रपुर। आराध्यदेव सूर्यको उपासना गरी मनाइने पर्व छठ विधिवत रुपमा आजबाट समापन भएको छ । उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व समापन गरिएको हो । छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि राजधानी काठमाडौंसहित तराईका विभिन्न जिल्लामा भक्तजन नदी, तलाउ र पोखरीका किनारमा रातभर जाग्राम बसेका थिए । छठको तेस्रो तथा मूख्य दिन हिजो साँझ अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अघ्र्य दिएका भक्तजनले आज उदाउँदो सूर्यको पूजा आराधना गरेका हुन् । काठमाडौंमा गुह्येश्वरी, गहनापोखरी, कमलपोखरीलगायत पोखरी तथा वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा भक्तजनले पूजाआजा गरेका थिए । जनकपुरका ऐतिहासिक गंगा सागर, धनुष सागर, अरगजा पोखरी, दशरथ तलाउसहित दुई दर्जनभन्दा बढी पोखरीमा ब्रतालुहरुले पूजा आरधना गरेका छन् ।
दुलही झैं सिंगारिएका तलाऊहरुमा हजारौं भक्तजन भेला भएर पूजा आराधना गरेका हुन् । वीरगञ्जको घडीअर्वा पोखरीमा पनि छठको उत्तिकै रमझम रहेको थियो । विशेष तराई मधेसमा मनाइने छठ पर्व पछिल्लो समय काठमाडौं र अन्य पहाडी जिल्लामा पनि मनाउने गरिन्छ । छठले मधेस र पहाडको सम्बन्धलाई अझ बलियो बनाउँदै लगेको छ । पूर्वको झापा, सुनसरी र मोरङमा पनि छठको रौनक उत्तिकै रह्यो । प्रदेश नम्बर २ को धनुषाको जनकपुरसहित छिमेकी जिल्ला सिरहा, सप्तरी, महोत्तरी, सर्लाही र रौतहटमा पनि छठ मनाइएको छ । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाउने गरिन्छ ।