निजगढ,०९ चैत्र ।
सम्भावित कोरोना संक्रमणलाई मध्यनजर गर्दै निजगढ नगरपालिकाले अईसोलेसन वार्ड तयार गरेको छ । नगरपालिकाले वडा नम्बर ९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा तत्कालका लागी ५ शैया सुविधाको अईसोलेशन वार्ड तयार गरेको निजगढ नगरपललिकाको मेयर सुरेश कुमार खनालले बताउनुभयो ।
तत्कालकालागी ५ शैयाको अईसोलेसन वार्ड तयार गरेको र आवश्यकता अनुसार थप अईसोलेसन विस्तार गर्ने तयारि समेत रहेको मेयर खनालले बताए । मेयर खनालले आवश्यकता परेमा बारा उध्योग वाणिज्य संघ निजगढ शाखाको भवन र बारा जिल्ला कभर्ड हललाई अईसोलेसन वार्ड बनाउने योजना रहेको बताए । यस्तै नगरपालिकाले नगरको बिभिन्न स्थानहरुमा हेल्थ डेस्क समेत संचालन गर्ने भएको छ ।
मेयर खनालको सभापतित्वमा आईतबार सम्पन्न नगर स्वास्थ्य समितिको बैठकले नगरको बिभिन्न ५ वटा स्थानहरुमा हेल्थ डेस्क संचालन गर्ने निर्णय गरिएको निजगढ नगरपालिका स्वास्थ्य शाखा संयोजक तथा नगर स्तरीय कोरोना भाईरस नियन्त्रण समितिका संयोजक रमेश लामाले बताउनुभयो । संयोजक लामाले नगरपालिकाको शहिद चोक,बुद्ध चोक,नगरपालिकाको कार्यालय,रतनपुरी बजार र भरतगंज सिंगौल बजार क्षेत्रमा हेल्थ डेस्क संचालन गर्न लागिएको बताउनुभयो । तेस्तै नगरपालिकाले मास्क वितरण गर्ने भएको छ । नगरपालिकाले यस अघि २० हजार मास्क वितरण गर्ने निर्णय गरेपनि थप २० हजार मास्क खरिद गरेर ४० हजार मास्क वितरण गर्ने भएको छ ।
सम्भावित संक्रमणको ख्याल गर्दै नगरपालिकाले नगर भित्र बाट संचालन हुने एम्बुलेन्सहरुलाई पनि तयारीका साथ रहन निर्देशन दिएकोछ । यसैबीच नगरपालिकाले नगर भित्रका क्लव र सामाजिक संघ संस्थाहरुलाई नगरपालिकाको कोरोना नियन्त्रण अभियानमा सहयोग गर्न अपिल गरेकोछ । आईतबार मेयर सुरेश कुमार खनालले नगर भित्रका क्लव र सामाजिक संघ संस्थाहरुका प्रतिनिधिहरुसंघ छलफल गरेर नगरपालिकाले संचालन गर्ने कोरोना नियन्त्रण अभियानलाई सहयोग गर्न आग्रह गर्नुभएकोहो । यस्तै नगरपालिकाले कोरोना भाईरसबाट सचेत रहन बिभिन्न सार्वजनिक स्थलहरुमा सुचना र व्यानरहरु राख्ने काम समेत गरेकोछ ।