निजगढ,३१ बैशाख । बारा सहित छिमेकी जिल्ला पर्सामा कोरोना भाईरस संक्रमितको संख्यामा उच्च वृद्धि भएपछी निजगढ नगरपालिकाले बुधबारदेखि नगर भित्र संचालन हुने सम्पूर्ण व्यवसायहरु पूर्ण रुपमा बन्द गरेकोछ। कोरोना भाईरस विपद अनुगमन तथा समन्वय समिति निजगढका संयोजक मेयर सुरेश कुमार खनालको सभापतित्वमा बुधबार सम्पन्न बैठकले ठुला योजना र नगर भित्र संचालित विकास कार्यहरु निजगढ नगरपालिका योजना संचालन कार्य्विधि अनुसार भाईरस जोखिम न्यूनीकरण विधि अपनाउंदै संचालन गर्न दिईने बाहेक अन्य कार्यहरु गर्नकालागी अर्को व्यवस्था नभए सम्मकालागि नगर पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेकोहो । नगर भित्र निर्माणाधीन ठुला योजना,ससर्त अनुदान तर्फका योजना,नगर भित्रका क्रसरमा भएका मौज्दात आन्तरिक खपत गर्न,सम्झौता भईसकेका योजनाहरु,आईई प्रतिवेदन बमोजिम आवश्यकता अनुसार नदि च्यानलाईज गरि नदिजन्य पदार्थ उत्खनन गर्न तथा निकासी कर संकलन भने गर्न पाईनेछ । नगरमा स्वास्थ्य सामाग्री बाहेकका सामाग्रीहरु आयात निर्यातमा पूर्ण रुपमा प्रतिबन्ध लगाईएकोछ । यसैबीच भारतीय सिमा क्षेत्र गौर बाट प्याज आयात गर्ने निजगढ बजार स्थित महाकाली सब्जी भण्डारलाई निजगढ नगरपालिकाले शिल गरेकोछ । नगरपालिकाको निर्णय उल्लङ्घन गर्दै महेन्द्र राजमार्ग भन्दा तल्लो भारतीय सिमाना नजिकका क्षेत्रबाट सामाग्री आयात गरेको भन्दै उक्त पसललाई सिल गर्दै १० हजार रुपैंया जरिवाना समेत गरेकोछ । निजगढका मेयर सुरेश कुमार खनाल सहितको अनुगमन टोलीले उक्त पसललाई सिल गर्दै जरिवाना गरेकोहो ।


