श्रीराम सुगरमिल सञ्चालन र भुक्तानीको माग गर्दै २ घण्टा चक्काजाम

रौतहट ११ असोज रौतहटको गरुडास्थित श्रीराम सुगर मिल सञ्चालन र भुक्तानीको माग गर्दै गौर चन्द्रपुर सडकखण्डमा चक्काजाम गरिएको छ । उखु उत्पादक किसान संघको नेतृत्वमा चिनी मिलमा कार्यरत कर्मचारीहरुको ट्रेड युनियनले भुक्तानीको माग गर्दै आइतबार दोस्रो दिन गरुडास्थित मिलगेट अगाडि २ घण्टा चक्का जाम गरेर विरोध प्रदर्शन गरेको हो ।
संघका पदाधिकारी र युनियन आबद्ध दर्जनौं कर्मचारीहरु ब्यानर राखेर दिउँसो १ बजेदेखि ३ बजेसम्म मुलबाटोमा धर्ना बसेर चक्काजाम गरेका थिए । चिनीमिलका सञ्चालकले उखु किसान र कार्यरत मजदूर कर्मचारीसँग छलफल नै नगरी मिल्स बन्द गरिएको भन्दै सो निर्णयविरुद्ध उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
उखु उत्पादक संघ रौतहटका बरिष्ठ उपाध्यक्ष रामप्रमोद प्रसाद यादवको नेतृत्वमा भएको चक्काजाम कार्यक्रममा प्रदेश राज्यमन्त्री योगेन्द्र यादवले किसानको धरोहरको रूपमा रहेको श्रीराम शुगर मिल्स कुनै पनि बहानामा बन्द हुन नहुने भन्दै प्रदेश २ सरकार किसानको साथमा रहेको बताए ।
मिल सञ्चालनको निमित्त संघका पदाधिकारी र किसानको साथमा सिंहदरवारभित्र उद्योगमन्त्री लेखराज भट्टको अगाडि गएर धर्नामा बस्न समेत आफू तयार रहेको राज्यमन्त्री यादवले प्रतिबद्धता जनाएका थिए । गरुडा नगर प्रमुख ईन्दु राय यादवले जिल्लाका जनप्रतिनिधीहरुलाई चिनी मिललाई बचाउन पहल गर्न तथा किसानको यथाशिघ्र भुक्तानी गराउन पहल गरिदिन हुन अनुरोध गरे ।

विरोध कार्यक्रममा जनता समाजवादी पार्टीका प्रदेश कमिटी सदस्य बृजकिशोर यादव र देवाही गोनाही नगरपालिकाको मेयर प्रत्यासी धर्मेन्द्र पटेलले चिनी मिल जुनसुकै अवस्थामा भएपनि सञ्चालन गर्न तथा किसानको बाँकी बक्यौता भुक्तानी यथासिघ्र गर्न माग गरे ।
चिनी मिल कर्मचारी युनियनका अध्यक्ष मनिलाल सहनीले मिल बन्द गरेको सूचना टाँस गरेपछि मात्र काम गर्ने कर्मचारीहरुलाई थाहा भएको हुँदा यसमा काम गर्ने कर्मचारीहरु अन्यौलमा परेको बताए । कम्पनीमा कार्यरत कर्मचारीहरुले विगत ६ महिनादेखि तलब पाएका छैनन् भने १८ महिनादेखि कर्मचारीहरुको सञ्चयकोष समेत मिल्स व्यवस्थापन पक्षले नपठाएको गुनासो उनीहरुको छ ।
उखु उत्पादक संघका सचिव सफिन्द्र यादवले मिलबाट अवकास प्राप्त कर्मचारीले पाउनुपर्ने उपदान समेत नदिएर एकतर्फी रुपमा उद्योग बन्द गरे पनि रेगुलर कामा गर्ने कर्मचारीहरु उद्योगमा प्रत्येक दिन उपस्थित भइरहेको बताए । शनिवार पहिलो दिन विरोधस्वरुप १ घन्टा, आइतबार २ घन्टा र सोमबार दिउँसो ३ घन्टा चक्काजाम गर्ने योजना रहेको सचिव यादवले जानकारी दिए । आफ्ना मागहरुको सुनुवाई नभए सरकारविरुद्ध कडा आन्दोलन गर्ने संघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles