काठमाडौँ, पर्सा — पर्सा राष्ट्रिय निकुञ्जको अमलेखगञ्ज–पथलैया सडकखण्डमा जिपको ठक्करबाट एउटा बाघ मरेको छ । हेटौंडाबाट निजगढ गइरहेको अजयकुमार मिश्रको बा १६ च ८११ नम्बरको कारले शनिबार बिहान ७ बजेर २० मिनेटमा सडकमै बाघलाई ठक्कर दिएको र घटनास्थलमै बाघ मरेको निकुञ्जका रेन्जर प्रकाश पुनले बताए ।
जितपुर सिमरा उपमहानगरपालिका– १ स्थित आधाभार जंगलमा कारले अन्दाजी ७–८ वर्षको पोथी बाघलाई ठक्कर दिएको हो ।
कारले बाघको टाउकोमा ठक्कर दिएको थियो । ‘तत्कालै हामी जाँदा अलिअलि चलमलाएको थियो,’ रेन्जर पुनले निकुञ्जको मुख्यालय आधाभारबाट भने, ‘ घाइते बाघ एकछिनमै मर्यो ।’इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डीएसपी दिपक श्रेष्ठले गाडी र सर्लाही निवासी चालक मिश्रलाई नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाइएको बताए ।तीव्र गतिमा आइरहेको कारमा बाघले जम्प गर्ने क्रममा चक्कामुनि आएको चालकले बयान दिएका छन्,’ एक प्रहरी अधिकृतले भने, ‘यसको थप अनुसन्धान निकुञ्जले गर्ने छ ।’ प्रत्यक्षदर्शी सम्यक चौंलागाइका अनुसार सडक पार गरिरहेको बाघलाई तीव्र गतिमा आएको गाडीले ठक्कर दिँदा बाघको मृत्यु भएको हो । निकुञ्जको उक्त सडकखण्डमा सवारी गति निर्धारण गरिए पनि त्यसको पालना भने भएको छैन । निकुञ्जले अहिले मिश्रसँग बयान लिइरहेको रेन्जर पुनले बताए ।दुई वर्षअघिको तथ्यांकअनुसार नेपालमा बाघको संख्या २३५ छ । पर्सा निकुञ्जमा बाघको संख्या १८ छ । हालै सरकारले गरेको अध्ययनअनुसार चितवन र पर्सा निकुञ्ज (चितवन–पर्सा कम्प्लेक्स) ले १७५ वयस्क बाघ थेग्न सक्ने (भारवहन) निष्कर्ष निकालेको छ । साभार कान्त्तिपुर


