रौतहटको गौर नगरपालिका पछिल्लो समय विकासको नमूना नगरको रुपमा परिचित हुन थालेको छ । विगतमा उपेक्षाका कारण विकासमा पछि परेको सो नगरपालिकामा जनप्रतिनिधि आएसंगै नगरक्षेत्रमा विकासको लहर तीव्र रुपमा शुरु भएको हो ।नगरपालिकाले मुख्यतः भौतिक पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर योजना तर्जुमा र त्यसको प्रभावकारी कार्यान्वयन गर्न थालेपछि गौर नगरपालिकाको स्वरुप फेरिन थालेको छ ।विगतमा अतिक्रमण र कुरुप शहरको रुप रहेको गौर नगरपालिका अहिले सडक अतिक्रमण गरी बनाइएका छाप्रो हटाउनेदेखि सडकको स्तरोन्नतिको कार्यलाई तीव्रता दिएको र यसले विकासको अनुभूति हुन थालेको गौर नगरपालिका–५ का सन्तोष पौडेलले बताए । उनले भने, ‘नगर क्षेत्रमा सार्वजनिक सडक अतिक्रमण गरी छाप्रो ठड्याउने क्रम बढेको थियो, जनप्रतिनिधि आएपछि अतिक्रमण गरी बनाइएका त्यस्ता संरचना हटाउनेदेखि सडक पूर्वाधार निर्माणमा जोड दिएको देखिन्छ ।’
सा“घुरो सडकका कारण सधैं जनताले सास्ती खेप्नु परेका हुनाले गौरका मुख्य तथा सहायक सडक यतिबेला जनप्रतिनिधिको सक्रियतामा फराकिलो र कालोपत्र हुने भएको उनको भनाइ छ । बीस वर्षसम्म स्थानीय तहमा जनप्रतिनिधि नहु“दा विकास निर्माण प्रायः ठप्प भएको थियो, स्थानीयवासी सन्तोष पौडेलले भने, जनप्रतिनिधि आएपछि नगरपालिकामा विकासको लहर नै चलेको आभास भइरहेको छ । उनका अनुसार गौर नगरमा पर्ने मुख्य सडक तथा सहायक सडकमा बाटो स्तरोन्नतिसँगै पानी निकासका लागि नाला निर्माणको काम धमाधम हुन थालेपछि स्थानीयवासी उत्साहित भएका छन्।
यसका साथै गौर बजारको सौन्दर्यकरणसँगै आर्थिक स्रोतको रुपमा रहेको तरकारी हाटबजार, पार्क तथा विपी चोकमा स्कृति टावर निर्माणको कार्यलाई महत्वाकांक्षी योजनाको रुपमा नगरपालिकाले अगाडि बढाएको गौर नगरपालिकाको प्रमुख अजय गुप्ताले बताए ।
आर्थिक सम्वृद्धिका लागि पर्यटनलाई जोड दिएको गौर नगरपालिकाले नगरक्षेत्रभित्र रहेको वरहवा ताल पर्यटकीय सम्भावना बोकेका स्थलको संरक्षण, सम्बद्र्धन, जीर्णोद्वार र सौन्दर्यकरण कार्यलाई जोड दिएको मेयर गुप्ताले बताए ।ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्व बोकेको सलहेश फूलबारीलाई सलहेश सर्किटको रुपमा विकास गर्ने गरी योजना बनाएका छौं, उनले भने,सोहि अनुसार अहिले सडक निर्माणलगायत भौतिक पूर्वाधार र संरचना निर्माण भइरहेका छन् ।
यसका साथै पर्यटकलाई लोभ्याउन सकिने भवरा दह, देवी दह, मानिक दहलगायतका दहको जीर्णोद्वार तथा राजदेवी मन्दिरलाई व्यवस्थित र सौन्दर्यकरण गर्न थालिएको उनको भनाइ छ ।नगरक्षेत्रको समग्र विकास गरी सम्वृद्ध नगरको रुपमा स्थापित गर्ने लक्ष्यका साथ योजना अघि बढेको गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले बताए । हाम्रो गौर, सम्वृद्ध गौर भन्ने नाराका साथ नगरपालिकाले सञ्चालन गरेको योजनाबाट स्थानीयवासीमा देखिएको उत्साहका कारण आफूहरुमा थप ऊर्जा मिलेको उनको भनाइ छ ।
चालू आर्थिक वर्षको नीति कार्यक्रममा भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र सिँचाइलाई प्राथमिकतामा राखेको नगरप्रमुख गुप्ताले बताए । सम्वृद्ध गौर नगरपालिकाको परिकल्पनाका साथ पारदर्शी रुपमा नगरपालिकाले आफ्ना योजना सञ्चालन गरिरहेको छ, उनले भने, आफ्नो कार्यकालभित्रै गौर नगरपालिकालाई सम्वृद्ध बनाउने सङ्कल्पका साथ कार्य गरिरहेका छौं, मेरो कार्यकालभित्रै गौर नगरपालिकाको मुहार फेरिन्छ ।
आर्थिक अनियमितता र जनप्रतिनिधिबीचको विवादका कारण मुलुकका अधिकांश स्थानीय तहले जनअपेक्षा अनुसार काम गर्न नसकिरहेका बेला गौर नगरपालिकाले ल्याएको विकासको लहर आफैमा उदाहरणीय भएको स्थानीय वुद्धिजीवी महेश्वर लाल कर्णलको भनाइ छ ।


