रौतहट ,१४ बैशाख । डिभिजन वन कार्यालय रौतहटले चाँदीखोला नदिउकास वन क्षेत्रमा अतिक्रमण नियन्त्रण गर्न विभिन्न प्रयासहरुको थालनी गरेको छ । जिल्ल्को चन्द्रपुर नगरपालिका वडा नं-३ गैडाटार स्थित नदि उकाश क्षेत्रमा भएको अतिक्रमीत क्षेत्रमा आइतबार बृक्षारोपन गरिएको छ ।

पुर्वमा सरकारी हाईस्कुल र भोर्लेनी सामुदायिक बन, पश्चिममा कछडिया निकास र तिलेश्वरनाथ सामुदायिक वन, उत्तरमा आबादी र दक्षिणमा यति चारकिल्ला भित्रको चाँदी खोला नदि उकास क्षेत्रमा पहिले देखिनै वन क्षेत्र अतिक्रमण गरि बसेको बस्तिको पश्चिमपट्टि थप वन क्षेत्र अतिक्रमण गर्ने उद्देश्यले करिब ६ हेक्टर क्षेत्रफलमा सिसौ,सपेता जातका करिब ५ हजार बिरुवा रोपिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

तारवार सहितको घेरा लगाएर वन क्षेत्र अतिक्रमण गरेको स्थानमा पोल तथा तारवार उखेलि उक्त काठको पोल र तार उखेलेर अतिक्रमण हटाइएको डिभिजन वन अधिकृत हेमन्त प्रसाद साहले जानकारी दिए ।
तिलेश्वरनाथ सामुदायिक वन उपभोक्ता समुहसंग सहकार्य गरि वन कार्यालय रौतहट, सशस्त्र प्रहरी वल सन्तपुर, ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र तिलेश्वरनाथ सामुदायिक वन उपभोक्ता समुहको संयुक्त सहभागितामा उक्त क्षेत्रलाई पुर्नस्थापना गराउने उद्देश्यका साथ वृक्षारोपण कार्य सम्पन्न गर्नुको साथै उक्त रुख विरुवा हानिनोक्सानी गर्ने गराउने कार्यमा संलग्न व्यक्तिहरुको खोजतलास गरि फेला परेमा पक्राउ गरी वन ऐन २०७६ बमोजिम कडा भन्दा कडा कार्वाही गरिने व्यहोरा डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त प्रसाद साहले बताए ।



