रौतहट – साइबर सुरक्षा र कृत्रिम बुद्धिमत्ता (एआइ) सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम आइतबार चन्द्रपुर नगरपालिकाको होटल आरोहीमा सम्पन्न भएको छ।
आमसञ्चार प्रतिष्ठान मधेस प्रदेशको आयोजनामा तथा नेपाल पत्रकार महासंघ रौतहटको समन्वयमा आयोजित उक्त कार्यक्रममा पत्रकार, सञ्चारकर्मी, सूचना प्रविधि क्षेत्रका व्यक्ति तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको उदघाटन गर्नुहुँदै चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जय काफलेले पत्रकारहरूको दक्षता अभिवृद्धि भएमात्र सम्मुनत समाज निर्माण हुने बताउनु भयो ।
कार्यक्रममा साइबर सुरक्षासम्बन्धी आधुनिक प्रविधि, सम्भावित जोखिम, सुरक्षित इन्टरनेट प्रयोगका उपायहरू तथा एआइको प्रयोग र प्रभावबारे विस्तृत जानकारी दिइएको थियो। प्रशिक्षकहरूले डिजिटल युगमा सञ्चारकर्मीहरूको भूमिकाबारे चर्चा गर्दै प्रविधिको सही र सुरक्षित प्रयोग अनिवार्य रहेको औंल्याए।
आयोजक संस्थाका प्रतिनिधिहरूले यस्ता कार्यक्रमले सञ्चार क्षेत्रको प्रविधिमैत्री विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरे। सहभागीहरूले कार्यक्रम निकै जानकारीमूलक तथा उपयोगी भएको प्रतिक्रिया दिएका थिए।
उक्त कार्यक्रमले स्थानीय सञ्चारकर्मीहरूबीच डिजिटल साक्षरताको महत्व थप बलियो बनाएको आयोजकहरूको भनाइ छ ।
कार्यक्रममा पत्रकारहरुलाइ प्रदान गरिएको पत्रकारहरुको भत्ताको रकमलाई स्वर्गीय पत्रकार फणि देव महतको परिवारलाई नगद रु ४५ हजार सहयोग गरिएको पत्रकार महसंघ रौतहटका अध्यक्ष संजय कार्कीले जानकारी दिनु भयो ।


