चन्द्रपुर,२१ जेष्ठ । रौतहटको चन्द्रपुर–१ मङ्गलपुरमा दुई सवारी साधन आपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्। बुधबार पूर्व–पश्चिम राजमार्गमा सर्लाहीको बरहथवा देखि चन्द्रनिगाहपुरतर्फ आईरहेको बा.प्रदेश ०३–००१ ज ०४५२ नम्बरको ईभी हाईस र विपरीत दिशाबाट आउँदै गरेको म.प्र.०३–००१ ख ६०० नम्बरको ट्रक एकआपसमा ठोक्किएका थिए।दुर्घटनामा ईभी हाईसमा सवार सर्लाही रामनगर गाउँपालिका–१, खैरवाकी ३६ वर्षीया भगिया देवी र ३० वर्षीय धिरेन्द्र ठाकुरको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।त्यस्तै, सोही हाईसमा रहेका रामनगरकी १ वर्षीया रानी कुमारी यादव र दुर्गाभगवती गाउपालिका ५ बडेर्वाका १९ वर्षीय सरोज ठाकुर घाइते छन् र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।दुर्घटनापछि ट्रक चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका–१३ निवासी ३२ वर्षीय ग्यालसेन थोकर र ईभी हाईस चालक सर्लाही रामनगर–३ निवासी २१ वर्षीय आकाश सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।