गौर । ट्राफिक नियमको महत्व, सडक सुरक्षा र दुर्घटना न्यूनीकरणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित ‘ट्राफिक सप्ताह २०८२’ बिहिबार देखि रौतहटमा औपचारिक रूपमा सुरु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको संयुक्त आयोजनामा शुरु भएको सात दिने सप्ताहको उद्घाटन प्रभात फेरी मार्फत गरिएको थियो ।

प्रभातफेरीमा विद्यार्थी, सुरक्षाकर्मी, सामाजिक अभियन्ता, ट्राफिक प्रहरी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमको नेतृत्व जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीले गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्का, जिल्ला प्रहरी प्रमुख एसपी नेत्रमणी गिरी, सशस्त्र प्रहरी बलका एसपी सन्तोष बस्नेत,गौर नगरपालिकाका मेयर शम्भु साह,समाजसेवी,पत्रकारहरुको उपस्थिती रहेको थियो ।

प्रहरी निरीक्षक अधिकारीका अनुसार ट्राफिक सप्ताह अवधिभर रौतहटका विभिन्न क्षेत्रमा ट्राफिक नियम, सडक सुरक्षा, सवारी सञ्चालनको मर्यादा र दुर्घटना न्यूनीकरण जस्ता विषयमा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछन ।

कार्यक्रमहरूमा स्कुल कलेजमा अन्तरक्रिया, पम्प्लेट वितरण, पोस्टर प्रदर्शन, सडक नाटक, ट्राफिक नियमसम्बन्धी प्रशिक्षण लगायत समावेश गरिने जनाईएको छ ।

ट्राफिक प्रहरीले ट्राफिक नियम पालना गर्दा सडक दुर्घटना घट्ने, सवारी यात्रा सुरक्षित र सहज हुने भन्दै सबै नागरिकलाई ट्राफिक नियममा जिम्मेवार बन्न आग्रह समेत गरेको छ ।
