रौतहट । डिभिजन वन कार्यालय रौतहटले वन संवर्धन प्रणालिमा आधारित दिगो वन व्यवस्थापनको लागी उपभोक्ता समुहहरुलाई क्रमिकरुपमा क्षमता अभिवृद्धिका तालिमहरु दिदै आइरहेको छ। पौराई सव डिभिजन वन कार्यालय अन्तर्गतका विभिन्न् सामुदायिक वनका उपभोक्ता समुहका पदाधिकारीहरुलाई दुई दिने क्षमता अभिवृद्धि तालिम अन्तर्गत जेष्ठ २३ गते पहिलो दिन दिगो वन व्यवस्थापन र वन संवर्धन प्रणाली सम्बन्धि सैद्धान्तिक ज्ञानको साथै देशका विभिन्न सामुदायिक वनमा भईरहेका दिगो वन व्यवस्थापनको कामहरु सम्बन्धि जानकारी दिएको थियो।यसै गरी दोस्रो दिन वन संवद्र्धन प्रणालिमा आधारित दिगो वन व्यवस्थापनको स्थलगत अवलोकनको लागि वारा जिल्लास्थित जनज्योति सामुदायिक वन बाघभैरव सामुदायिक वन र गढिमाई साझेदारी वनको भम्रण गराइएको डिभिजन वन कार्यालयका प्रमुख हेमन्त प्रसाद साहले जानकारी दिए ।
उदघाटन कार्यक्रममा आफ्नो मन्तव्य राख्दै डिभिजन वन कार्यालय रौतहटका डिभिजनल वन अधिकृत हेमन्त प्रसाद साहले दिगो वन व्यवस्थापनको लागी संघ र प्रदेश स्तरमा सम्पूर्ण कानूनी आधार तयार भइसकेकाले दिगो वन व्यवस्थापनमा ढिला नगर्न सुझाव दिए ।
प्रमुख साहले वन संवद्र्धन प्रणालिमा आधारीत वनको दिगो व्वस्थापनको लागी विभिन्न प्रकारका वन संवद्र्धन प्रणालीहरु रहेको र उपभोक्ताले आफ्नो वनको दिगो व्यवस्थापन गर्दा समुहको आवस्यकता, वनको अवस्था, उपभोक्ता समुहको सामाजिक अवस्था,वन पैदावारको माग र वनमा रहेका प्रजातिलाई केन्द्रमा राख्न सुझाए ।
यसै गरी धेरै जसो सालको वनमा (छत्र प्रणाली) लगाएको र उक्त प्रणालीमा छत्र वा माउ रुखको रुपमा प्रति हेक्टर १५ देखी २५ ओटा रुख राख्ने गरेकोमा उक्त संख्यालाई आवश्यकता अनुसार राख्न पनि सुझाए ।
यस आर्थिक वर्षमा जिल्लामा ३ ओटा सामुदायिक वनको दिगो वन व्यवस्थापनको कार्ययोजनाहरु तयारीको भएको र आउने आर्थिक वर्षमा बाकी वनमा पनि दिगो वन व्यवस्थापनले पुर्णता पाउने र समुहहरुले पनि त्यसै अनुसार तयार रहनु पर्ने कुरामा उनको जोड थियो ।
कार्यक्रमा प्रशिक्षकका रुपमा रहनुभएका वन अधिकृत शेर बहादुर बुढाले वन अतिक्रमण,आगलागी,वन संरक्षणमा उपभोक्ताको घट्दो जनचासो, जलवायु परिवर्तन तथा बढ्दो जनसंख्याको वन पैदावारको माग पुरा गर्न वन संवद्र्धन प्रणालिमा आधारीत वनको दिगो व्वस्थापन अपरिहार्य रहेको कुरामा जोड दिए ।
वन क्षेत्रको कुल गार्हस्थ उत्पादनमा योगदान न्यून रहेको अवस्थामा दिगो व्यवस्थापनको माध्यमबाट उत्पादन र उत्पादकत्व वृद्धि गरी आशातित उपलब्धि हासिल गर्न सकिने कुरामा जोड दिनुभयो। साथै दिगो वन व्यवस्थापनबाट हरित उधम विकास तथा रोजगारीका अवसरहरु सिर्जना हुने भएकाले उपभोक्ताहरुको वन व्यवस्थापनप्रति चासो बढ्न गई वन अतिक्रमण,आगलागी जस्ता समस्याहरुको समाधान हुने कुरामा उनको जोड थियो ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष बेदहरी दाहाल,टिका आचार्य,प्रेमकुमारी तिमल्सिना,रन्जु थापा लगायतको समेत सहभागिता रहेको थियो ।