कटहरीया : रौतहटको कटहरिया नगरपालिकाले मंगलबार आफ्नो ११ औं नगरसभा भव्य रूपमा सम्पन्न गरेको छ ।
आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि ५४ करोड २५ लाख ५२ हजार रुपैया“को बजेट सार्वजनिक गर्दै कटहरिया नगरपालिकाले ११ औं नगरसभा भव्य रूपमा सम्पन्न गरेको हो । सरकारी निति अनुसार असार १० गते भित्र नीति, कार्यक्रम र बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था अनुसार नगरपालिकाले आगामि आर्थिक बर्षको लागी नगर सभा सम्पन्न गरेको छ ।
नगर प्रमुख अजय प्रकाश जयसवालको अध्यक्षतामा सम्पन्न नगरसभामा आर्थिक वर्ष २०८२।०८३ का लागि नीति तथा कार्यक्रम कार्यान्वयन गर्न उक्त बजेट प्रस्ताव गरिएको हो ।
संघीय तथा प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण, शशर्त तथा विशेष अनुदान, राजस्व बाँडफाड समपुरक अनुदान र आन्तरिक स्रोतमार्फत संकलन भएको बजेट शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, यातायात, विधुत र भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ ।
सभामा सम्बोधन गर्दै मेयर जयसवालले सीमित स्रोतसाधन हुदाहुदै पनि नगरले विगत केही वर्षमा रुपान्तरणकारी योजनाहरू कार्यान्वयन गर्दै विकासमा उल्लेखनीय फड्को मारेको बताएका छन् । उनले नगरभित्रका चालु तथा आउदै गरेका विकास आयोजना, रोजगारी सिर्जना, महिला सशक्तीकरण, शिक्षा र स्वास्थ्य सुधारमा नगरले देखाएको प्रतिबद्धता पनि उल्लेख गरेका छन् ।
जिल्ला समन्वय समितिका सभापति रामअयोध्या रायको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त नगरसभामा बोल्दै सबैको साथ र सहयोग रहने हो भने आफ्नो कार्यकालमै कटहरिया नगरलाई नमुना नगरको रूपमा स्थापित गर्न आफु कटिबद्धतापूर्बक लाग्ने नगरप्रमुख जयसवालले प्रतिबद्धता जाहेर गरेका छन् ।