अध्यक्षका आकांक्षी लेख्छन्ः हुनेलाई खातैखात, नहुनेलाई पुर्पुरोमा हात

हेटौंडा/ लामो रस्साकस्सीपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले जिल्ला तहको नेतृत्व टुंगो लगाएको छ तर, केन्द्रीय नेतृत्वले एकलौटी ढंगले निर्णय गरेको भन्दै जिल्ला तहका केही नेता भने असन्तुष्ट बनेका छन् ।

जिल्ला र प्रदेशले सिफारिस गरेको भन्दा फरक ढंगले तत्कालीन माओवादी र एमालेको अध्यक्षलाई नै अध्यक्ष र सचिव बनाउने निर्णय भएपछि पार्टीमा केन्द्रियता लादिएको भन्दै आन्तरिक रुपमा असन्तुष्टी बढेको छ । नेकपा मकवानपुरका अध्यक्षका दुई आकांक्षीले फेसबुक स्टाटसमा पेचिलो शब्दको प्रयोग गर्दै असन्तुष्टी पोखेका छन् ।

अध्यक्षको दाबेदार तत्कालीन एमाले मकवानपुर उपाध्यक्ष बद्री लम्सालले फेसबुकमा लेखेका छन् ‘हाम्रो पार्टी महान छ । नेता विशाल हृदयको हुनुहुन्छ । त्यसैले जे निर्णय हुन्छ खुरुखुरु मान्नुमा नै कल्याण छ । अर्को स्टाटस लेख्दै उनले अध्यक्ष र सचिवमा चयन भएका नेताहरुलाई बधाईसहित कार्यकाल सफलताको शुभकामना समेत दिएका छन् ।

त्यस्तै अर्का अध्यक्षका दाबेदार एकालाल श्रेष्ठले फेसबुकमा लेखेका छन्–‘ हुनेलाई खातको खात, नहुनेलाई पुर्पुरामा हात । यति कुरो बुझ्न ४८ बर्ष लाग्यो ए गाँठे । धन्य नेता महात्य ।’
नेकपा मकवानपुरको नेतृत्वको लागि बद्री लम्साल, एकालाल श्रेष्ठ र श्रीधर पोखरेलले आकांक्षा देखाएका थिए । यस्तै सचिवका लागि बिष्णु बिष्ट आदर्श, कमानसिंह पाख्रीन र प्रकाश पाण्डेको चर्चा चलेको थियो ।

नेकपा मकवानपुरले नेतृत्वको बिषय टुंगो लगाउन नसकेपछि अध्यक्षमा बद्री लम्साल र सचिवमा बिष्णु बिष्टको नाम प्रदेश समितिलाई बुझाएको थियो । केन्द्रीय नेतृत्वले भागबण्डाको आधारमा तत्कालीन अवस्थामा पार्टीको नेतृत्व गरेकाहरुलाई नै नेतृत्वको जिम्मा दिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles