यस्तो छ नेकपाको जिल्ला हाँक्ने तीन नेतृको नालीबेली

हेटौंडा– पार्टी एकता भएको झण्डै एक बर्षपछि नेपाल कम्युनिष्ट पार्टी नेकपाले जिल्लाको नेतृत्व हाँक्ने गरी ७७ जिल्लामा ७७ जना अध्यक्ष र सचिवको नाम घोषणा गरेकोमा तीन जिल्लामा महिला नेतृहरुले जिल्लाको पार्टी नेतृत्व हाँक्ने जिम्मेवारी पाएका छन् ।

महिला नेतृमा मकवानपुरकी मुनु सिग्देल, काभ्रेकी रुकु चौलागाई र लमजुङकी मधु अधिकारी छन्। तीन मध्ये मकवानपुरकी सिग्देलले पूर्व एमालेको तर्फबाट नेकपाको जिल्ला नेतृत्व सम्हाल्ने अवसर पाएकी हुन् भने काभ्रेकी चौलागाईं र लमजुङकी अधिकारीले पूर्व माओवादी केन्द्रको तर्फबाट नेतृत्वको अवसर पाएकी हुन् । त्यसमध्ये लमजुङकी अधिकारी नेकपाको जिल्ला अध्यक्ष हुनुअघि पूर्व माओवादी केन्द्रको जिल्ला संयोजक थिइन्। उनी गण्डकी प्रदेशको प्रदेश सभा सदस्य छिन्। जनयुद्धकालदेखि नै माओवादी राजनीतिमा संलग्न अधिकारीले जनयुद्धमा आफ्ना श्रीमान् आशलाल गुरुङलाई गुमाएकी थिइन् ।

माओवादी शान्ति प्रक्रियामा आएपछिको पहिलो संविधान सभा निर्वाचनमा उनी लमजुङ–२ बाट तत्कालिन माओवादीको तर्फबाट उम्मेदवार थिइन्। तर, गण्डकी प्रदेशका वर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबाट पराजित भइन्। दोस्रो निर्वाचनमा समानुपातिक सूचीमा परेपनि संविधान सभा सदस्य बन्ने अवसर उनलाई जुरेन ।

रोचक त के भएको छ भने, राजनीति पृष्ठभूमिका दृष्टिले आफूभन्दा बरिष्ठ भएपनि नातामा दाजु पर्ने लमजुङ ‘क’ का प्रदेशसभा सदस्य धनन्जय दवाडीलाई उछिन्दै लमजुङको पार्टी नेतृत्व पाएकी छन्। अधिकारी जिल्ला अध्यक्ष बन्दा उनका दाजु धनन्जय दवाडीले जिल्ला सचिवको जिम्मेवारी पाएका छन् ।

दवाडी यसअघि पूर्व एमालेको लमजुङ जिल्ला अध्यक्ष थिए। ‘मधु नातामा मेरी बहिनी पर्छिन्, म उनको दाजु, उनी मेरी फुपुकी छोरी हुन्’ दवाडीले भने, ‘पार्टीको निर्णय हो, नाताले बहिनी भएपनि अब उनी अध्यक्ष र म सचिव बनेर जिल्ला पार्टी चलाउँछौँ।’

मकवानपुरकी अध्यक्ष सिग्देल पनि पञ्चायतकालदेखि नै कम्युनिष्ट राजनीतिमा लागेकी हुन्। ०४६ को आन्दोलन चल्दै गर्दा उनी जिल्लामा तत्कालिन मालेको विद्यार्थी संगठन अनेरास्ववियूको जिल्ला अध्यक्ष थिइन्। त्यसै हैसियतमा उनी आन्दोलनमा सक्रिय रहिन्।

आन्दोलनकै क्रममा मकवानपुरमा एकजना प्रहरीको मृत्यु भयो। पक्राउ परेकी मुनुमाथि प्रहरी हत्याको संगिन आरोप लाग्यो। उनले आजिवन कारावासको सजायँ पाइन्। तर, आन्दोलन सफल भएपछि जेलबाट रिहा भइन्। उनीमाथिको मुद्दापनि सरकारले फिर्ता लियो।

३० बर्ष लामो राजनीतिक पृष्ठभूमि रहेकी मुनुको पारिवारिक परिचय अझै चर्चित छ। उनी बहुदलकालभरि मकवानपुरबाट निर्वाचित तत्कालिन एमालेका सांसद विरोध खतिवडाकी श्रीमति र मिस नेपाल श्रृङ्खला खतिवडाकी आमा हुन् ।

प्रतिनिधि सभाको निर्वाचन २०७४ मा श्रीमान् विरोध फेरि निर्वाचित भए, मकवानपुर– २ बाट । मुनु भने प्रदेश सभाका लागि समानुपातिक उम्मेदवारको सूचीमा थिइन् । एमालेको जिल्ला अध्यक्ष रहेकी उनी निर्वाचनपछि प्रदेश सभा सदस्यको छनोटमा पर्न सफल भइन्।

सञ्चारमन्त्री गोकुल बास्कोटाको गृहजिल्ला काभ्रेको नेकपा संगठन कमिटीले पनि महिला अध्यक्ष पाएको छ। जनयुद्धको सुरुवातकालदेखि नै माओवादी राजनीतिमा संलग्न रहेकी रुकु काठमाडौँ पूर्वकी अग्रणी महिला नेतृ थिइन्। नातामा तत्कालिन माओवादीको पूर्वी कमाण्डका ईञ्चार्ज यानप्रसाद गौतम आलोक को साली पर्ने रुकुको राजनीतिक जीवनको अधोगति ९आलोक० सँगसँगै हुन थाल्यो । आलोकको निर्देशनमा माओवादी कार्यकर्ता रमेश ढुङ्गेलको हत्या भएको खुलाशा भएपछि उनी आलोक कार्वाहीमा परे। आलोकसँग निकट रहेको आरोप लगाउँदै रुकु पनि पार्टी कार्वाहीमा परिन् ।

कार्वाहीमा परेका आलोक श्रम शिविरमै रहेका बेला ०५९ बैशाखमा रोल्पामा सैन्य कार्वाहीमा मारिए। पार्टी कार्वाहीबाट मुक्त भएपछि रुकु चाहिँ राजनीतिक रुपमा निष्कृय रहिन्। द्वन्द्वका कारण गाउँमा जानसक्ने स्थिति थिएन। त्यसैले, उनी काठमाडौँमै रहेर तरकारी पसल सुरु गरिन् । माओवादी शान्ति प्रक्रियामा आएपछि चाहिँ उनी फेरि पार्टी राजनीतिमा फर्किइन्। माओवादी विभाजन हुँदा मोहन बैद्य किरण समूहकमा लागेकी उनी रामबहादुर थापा बादल सँगै फर्केकी उनी त्यसपछि माओवादी केन्द्र काभ्रेको जिल्ला संयोजक बनिन् ।

७७ जिल्लामध्ये सत्तारुढ नेकपाका ३ महिला नेतृलाई जिल्ला नेतृत्व हाँक्ने ‘पाइलट’ अर्थात् अध्यक्षको जिम्मेवारी दिइँदा ‘को–पाइलट’ मानिने सचिवको भूमिका भने कुनै महिला नेतृलाई दिइएको छै न। अर्थात् ७७ जिल्ला कमिटीमध्ये ७७ जना सचिव नै पुरुष बनाइएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles