प्रदेश ३ लाई लुम्बिनी भ्रमणको निम्तो, वर्षमा २० लाख पर्यटक लैजाने

हेटौंडा– प्रदेश नम्बर ५ को सरकारले प्रदेश नम्बर ३ लाई लुम्बिनी भ्रमणको निम्तो दिएको छ । लुम्बिनी भ्रमण वर्ष–२०७६ को प्रचारप्रसार टोलीले बुधबार हेटौंडामा आई प्रदेशबासीलाई लुम्बिनी भ्रमण गरी पर्यटन प्रवद्र्धन गर्न आग्रह गरेको हो । ५ नम्बर प्रदेश सरकारले घोषणा गरेको गौरवको कार्यक्रमको रुपमा रहेको लुम्बिनी भ्रमण वर्ष–२०७६ को प्रचारप्रसार गर्दै उक्त टोली हेटौंडा आइपुगेको हो ।

‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं’ भन्ने मूल नाराका साथ एकवर्षमा करिब २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको प्रचारप्रसार उपसमितिका संयोजक भरत केसीले जानकारी दिए । उनका अनुसार बर्सेनि लुम्बिनीमा करिब १६ लाख पर्यटक पुग्ने गरेको तथ्यांक रहेको छ । लुम्बिनी विकास कोषको पछिल्लो तीनवर्षको तथ्यांक अनुसार बार्षिक १२ लाख नेपाली, डेढलाख भारतीय र बाँकी डेढ लाखकै संख्यामा विभिन्न ८७ देशका अन्तर्राष्ट्रिय पर्यटकले भ्रमण गरेको देखिन्छ ।

भ्रमण वर्षका लागि प्रदेश सरकारले करिब तीनकरोड ६० लाख रुपियाँ विनियोजन गरेको छ । बुद्धको जन्मभूमि तथा विश्व सम्पदा सूचिमा सूचिकृत पुरातात्विक स्थान लुम्बिनी घुम्ने पर्यटकको संख्या बढाउने प्रदेश सरकारको योजना छ ।

भ्रमण वर्षमा विशेषगरी मायादेवी प्रसुतिमार्ग घोषणा तथा प्रसुति उत्सव, लुम्बिनी फुड फेस्टिबल, सुजाता खीर उत्सव, मायादेबी मन्दिर परिसरमा दैनिक दीप प्रज्ज्वलन, मासिक फूल मून डे उत्सव, धार्मिक यात्रा, त्रिपिटक वाचन तथा पूजाआजा र योग तथा ध्यान शिविरहरु सञ्चालन गरिने बताइएको छ ।

प्रचारप्रसार टोलीले आयोजना गरेको पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रममा ३ नम्बर प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले समृद्धिको आधार पर्यटन भएको बताउँदै पर्यटन विकासका लागि विभिन्न क्रियाकलाप गर्न जरुरी रहेको औंल्याए । कार्यक्रममा उद्योग बाणिज्य संघ मकवानपुर अध्यक्ष कृष्ण कटुवाल, उद्योग संघ मकवानपुर अध्यक्ष नवराज अर्याल तथा होटल एसोसिएसन अफ मकवानपुर अध्यक्ष शंकरलाल श्रेष्ठलगायत सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles