अस्थायी शिक्षकलाई यसैवर्ष बिदाई गरिने

779

काठमाडौं–सरकारले लामो समयसम्म कार्यरत् अस्थायी शिक्षकहरुलाई स्थायी गराउन नसकिने स्पस्ट पारेको छ ।

प्रतिनिधिसभाअन्तर्गत्को शिक्षा तथा स्वास्थ्य समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकहरुको स्वतः स्थायी बनाउनुपर्ने माग सम्बोधन गर्न नसकिने स्पस्ट पारे ।

उनले एकपटक लिइएको परीक्षामा अनुत्तीर्ण भएका अस्थायी शिक्षकहरुलाई सरकारले चालू शैक्षिकसत्रभित्रै सम्मानका साथ बिदाइ गर्ने बताए । सरकारले लामो समयसम्म कार्यरत् अस्थायी शिक्षकहरुलाई स्थायी गराउन एकपटक परीक्षा लिएको भन्दै अब पुनः परीक्षा लिएर स्थायी गराउन कानुनले नै नमिल्ने मन्त्री पोखरेलको तर्क छ । उनले सरकारले गुणस्तरीय शिक्षामा जोड दिइरहेका बेला परीक्षामा अनुत्तीर्ण भएका अस्थायी शिक्षकहरुलाई स्वतः स्थायी गर्न व्यावहारिकसमेत नहुने पनि जिकिर गरे ।

अस्थायी शिक्षकहरुलाई आर्थिक सहायतासहित बिदाइ गर्न सरकार लागिपरेको उनको भनाइ थियो । बैठकमा समितिका सदस्यहरुले लामो समयसम्म कार्यरत् अस्थायी शिक्षकहरुलाई रोजगारीको व्यवस्था गर्न सरकारसँग माग गरेका थिए । कतिपय अस्थायी शिक्षकहरु अपांगता भएकासमेत भएकाले उनीहरुको जीविकोपार्जनको व्यवस्था सरकारले गर्नुपर्ने पनि सांसदहरुको माग थियो । बैठकमा समितिअन्तर्गत्को शिक्षा उपसमितिले तयार पारेको प्रतिवेदन मन्त्री पोखरेललाई बुझाइएको थियो । प्रतिवेदनमा शिक्षक दरबन्दी तत्काल मिलान गर्न सरकारलाई सुझाव दिइएको छ ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg