गौर,२५ असार ।
रौतहटको सदरमुकाम गौरमा रहेको जिल्ला अस्पताल अभाव नै अभावमा घिस्री राखेको छ । जसको कारण विरामी उपचारको लागि बाहिर जान बाध्य छन् ।
अस्पतालमा आवश्यक जनशक्ति नहुनु, आवश्यक औषधी उपलब्ध नहुनु, आर्थिक अवस्था नाजुक हुनु, भौतिक संरचना जीर्ण हुनु जस्ता समस्याले अस्पताल ग्रसित छ । जसको कारण अस्पतालले प्रदान गर्ने सम्पूर्ण स्वास्थ्य सेवा नै प्रभावित बन्दै गएको अस्पतालका प्रमुख मेडिकल अधिकृत कृष्ण साह बताउनु हुन्छ । २५ शैया रहेको उक्त अस्पताललाई दुई वर्षअघि ५० शैयामा स्तरोन्नति गरि स्वास्थ्य सेवा विस्तार गरिएको थियो । अहिले अस्पताल निम्न अभावबाट गुज्रिएको छ ।
जनशक्ति अभाव
अस्पतालमा ९ जना विशेषज्ञ डाक्टर, ४ जना स्थायी अधिकृतस्तरको डाक्टर र ७ जना स्टाफ नर्ससहित ५१ जनाको दरबन्दी छ । विशेषज्ञ डाक्टरको दरबन्दीमा हाडजोर्नी तथा नशा रोग, बालरोग, मानसिक रोग, बेहोस पार्ने, स्त्रि रोग र रेडियोलोजिष्ट लगायत ९ जना रहनु पर्ने जिल्ला अस्पतालमा १ जना मात्रै इमर्जेन्सी मेडिसिन विशेषज्ञ
(एमडीजीपी) कार्यरत छन् ।
‘यस्तै अस्पतालमा ४ जना स्थायी मेडिकल अफिसर छन् । जसको भ्याद यही असारमा सकिन्छ । म्याद थप नभएमा पुनः डाक्टरको अभाव रहन्छ ।’ मेडिकल अधिकृत साहले बताए । यसैगरी नर्सिङ् इन्चार्जसहीत ७ जना स्टाफ नर्सको दरबन्दी रहेको अस्पतालमा १ जना मात्रै स्टाफ नर्स कार्यरत हुनुहुन्छ । ल्याब तर्फ मेडिकल ल्याब टेक्नोलोजिष्ट नभएको कारण कहिलेकाँही रोग पत्ता लगाउन समस्या परेको चिकित्सकको गुनासो छ ।
आर्थिक अभाव
अस्पतालले सुत्केरी गराएबापत प्रति सुत्केरी एक हजार पाँच सय, जटिल सुत्केरीमा तीन हजार, शल्यक्रियाद्वारा गराइएको सुत्केरीलाई सात हजार रुपियाँ अनुदानस्वरुप सरकारले उपलब्ध गराउँछ । जसको लागि अनुसूचि भरेर सम्बन्धित निकायमा पठाइसकेको अधिकृत साहले बताए । अनुसूचिमा उल्लेखित चालु आर्थिक वर्षदेखि हालसम्म तेस्रो चौमासिक रकम (करिब ४० लाख रुपिया“) माग गर्दा अहिलेसम्म नपाएको उनको गुनासो छ ।
नगरपालिकाले वास्ता गरेन
सरकारले जिल्ला अस्पताल गौरलाई स्वास्थ्य सेवाको लागि गौर नगरपालिका मार्फत पठाएको २२ लाख रुपिया“ खर्च भइ सकेको छ । अधिकृत साहकाअनुसार उक्त रकम अस्पतालमा प्रसुती गराउन आउने महिलालाइ दिइने यातायात खर्च मै सकिएको हो । अब सुत्केरी गराउन आउने महिलालाई दिने यातायात खर्च समेत अस्पतालमा छैन । अस्पतलामा महिनाको एक सय भन्दा बढी महिला सुरक्षित सुत्केरी गराउन आउने गरेका छन् भने दश जनाको हाराहारीमा शल्यक्रियाद्वारा सुत्केरी गराइने अस्पतालको तत्थ्यांक छ ।
उधारो रकम
अस्पताल मर्मतसम्भार, ल्यावको सामान, औषधी लगायत एक्स—रेको सामान उधारोमा खरिद गरेकोले अस्पतालले व्यवसायीलाई १५ लाख रुपिया“ दिन बा“की रहेको बताइएको छ ।
जीर्ण भौतिक संरचना
नया“ अस्पताल भवन हस्तान्तरण गरेको वर्षदेखि नै अस्पतालको ढलान रसाउने, जडान गरिएको पानीका पाइपबाट पानी चुहिने, भवनका आल्मुनियमका झ्याल बाङगिएको, खानेपानीको धाराबाट पानी नआउने जस्ता समस्याले अस्पताल आफै बिरामी परेको छ ।
उपर्युक्त समस्याले गर्दा अस्पतालमा बिरामीको चाप कम हुँदै गएको छ । अस्पतालबाट पाउनु पर्ने आवश्यक स्वास्थ्य सुबिधा नपाएपछि बिरामी उपचारको लागि बाहिरिनु पर्ने बाध्यतात्मक परिश्थिति छ ।


