चन्द्रपुर,२९ साउन । रौतहटको उत्तरी क्षेत्र चन्द्रनिगाहपुर सरकारी अस्पतालमा रहेको पानी शुद्धीकरण यन्त्र बिग्रीएको कारण अस्पताल आउने बिरामी तथा सर्वसाधारण स्वच्छ पानी पिउनबाट वञ्चित छन् ।
दुई वर्ष अघि अस्पताल व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष नरेश लामिछानेले जडान गर्न लगाउनु भएको पानी शुद्धीकरण यन्त्र बिग्रीएपछि अस्पताल आउने बिरामी तथा सर्वसाधारण स्वच्छ पानी पिउनबाट वञ्चित भएका हुन् ।
अस्पताल आउने बिरामी तथा बिरामीकोसाथमा आउनेले अस्पताल नजिकै रहेको चापाकलको पानी वा किनेको पानी पिउनु पर्ने बाध्यकारी अवस्था छ । अस्पतालको मुल ढोका नजिक जडान गरिएको उक्त यन्त्र करिब डेढ महिनादेखि बिग्रीएर प्रयोगबिहीन अवस्थामा रहेको अस्पतालका हेल्थ असिस्टेण्ट सरोजकुमार ठाकुरले जानकारी दिए ।चन्द्रपुर नगरपालिकाको मातहतमा रहेको उक्त सरकारी अस्पतालमा स्वच्छ पिउने पानीको व्यवस्थापनमा नगरपालिका नै अग्रसर हुनु पर्ने अस्पतालका तत्कालीन अध्यक्ष लामिछाने बताउ छन् । नगरपालिकाले यथाशीघ्र अस्पताल व्यवस्थापन समिति निर्माण गरी अस्पताललाई व्यवस्थित गर्नु पर्ने उनको सुझाव छ ।
अशुद्ध एवं दुषित पानीको कारण झडापखाला, आउ, जुका जस्ता समस्या आई पर्ने अवस्थामा अस्पताल प्रशासनले यथाशीघ्र शुद्ध पिउने पानीको व्यवस्था गर्नु पर्ने चन्द्रपुर नगरपालिकाका स्वास्थ्य संयोजक अभयकुमार ठाकुरले बताउनु भयो । १५ शैया रहेको उक्त अस्पतालमा दैनिक ८० जना भन्दा बढी बिरामी उपचारको लागि आउने गरेको बताउनु हुदै अस्पतालका डाक्टर अभिनन्दन श्रीवास्तवले अस्पतालमा अभाव स्वच्छ पानीको व्यवस्थापन शिघ्र गरिने विस्वास दिलाए ।
अस्पतालमा शुद्ध पिउने पानीको व्यवस्थापनमा भएको ढिलाईको कारण बिरामीले चापाकल वा किनेको बोतलको पानी पिउनुको विकल्प नभएको स्वास रोगको उपचारको लागि अस्पताल आउनु भएकी ६५ वर्षीया इन्द्रमाया बम्जनले गुनासो गर्नु भयो ।