बारा १२ भदौ । नेपाली सेनाले काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) साढे तीन वर्षमा निर्माण सम्पन्न गरिसक्ने जनाएको छ ।
आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सेनाले आयोजनाको लागत र निर्माण सम्पन्न अवधिका बारेमा जानकारी दिएको हो ।
आयोजनाको प्रारम्भिक लागत १ खर्ब ११ अर्ब रुपैया“ अनुमान गरिएकोे भए पनि हाल बढेर १ खर्ब ७५ अर्ब रुपैया“ पुगेको छ। विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बमोजिम आयोजनाको लागत १ खर्ब ५५ अर्ब रुपैयाँ अनुमान गरिएको छ भने मूल्य अभिवृद्धि करसहित लागत पौने २ खर्ब रुपैयाँ पुगेको हो ।
नेपाली सेनाले निर्माणको जिम्मा पाएको उक्त आयोजनाको काम २ वर्षमा करिब १० प्रतिशत मात्रै सकिएको छ। द्रुतमार्ग निर्माण गर्दा आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) नै नबनाएर काम सुरु गरिएको भन्दै आलोचना हुदै आएको थियो भने डिपिआर लामो समयदेखि स्वीकृत हुन सकेको थिएन। कोरियाली कम्पनी सुसुङ इन्जिनियरिङमार्फत सेनाले १० करोड रुपैयाँ लागतमा द्रुतमार्गको डिपिआर तयार पारको थियो । उक्त डिपिआर गत चैत ५ गते स्वीकृतिका लागि आयोजनाले रक्षा मन्त्रालयमार्फत मन्त्रिपरिषद् पठाएको थियो । तर, मन्त्रिपरिषद्ले अघिल्लो हप्ता मात्रै डिपिआर स्वीकृत गरेको छ ।
डिपिआर स्वीकृत हुनुअघि आयोजनाको निर्माणसम्बन्धी आधारभूत र प्रारम्भिक कार्यहरु एसियाली विकास बैंक (एडिबी)ले सन् २००८ मा तयार गरेको सम्भाव्यता अध्ययन प्रतिवेदनलाई आधार मानेर हुँदै आएका थिए ।
हाल आयोजनाभित्र पर्ने जग्गा अधिग्रहण र रुख कटानको काम भइरहेको छ । यो आयोजना बनाउनका लागि १ लाख ५१ हजार संख्याको हाराहारीमा रुख काटिने अनुमान गरिएको छ। फास्ट टूयाकमा अहिले कटिङ, फिलिङ, कल्भर्ट बनाउने लगायतका कामहरु भइरहेका छन् । २५ किलोमिटर सडकखण्डले आफ्नो आकार लिइसकेको छ ।