दाङ २८ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा फेरि राजा फर्किन्छ भन्नेहरू मुर्ख भएको बताएका छन् ।
शनिबार दाङको तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले पार्टीमा छलफल नै नभएको कुरामा कांग्रेसले राजा फर्काउन चाहेको छ भन्नु मुर्खता सिवाय अरू केही नभएको बताए ।
‘हाम्रो पार्टीमा यो विषयमा छलफल नै भएको छैन। त्यसैले फेरि राजा फर्किने कुरै छैन । कांग्रेसले राजा फर्काउन लागेको छ भन्ने कुरा वाहियात हो,’ सभापति देउवाले भने ।
उनले प्रहरीको पछिल्लो कार्यको प्रशंसा गरे ।
गृहमन्त्री रामबहादुर थापाका भाइलाई पक्राउ गरी अनुसन्धान गर्दा प्रहरी डराउन नहुने उनले बताए ।
‘प्रहरी राष्ट्रको हो । जनताको हो । कुनै दलको होइन । प्रहरी राष्ट्र र जनताप्रति वफादार हुनुपर्छ,’ देउवाले भने ।
जनताको करबाट तलब खाने हुँदा प्रहरी जनताको शान्ति सुरक्षामा लाग्नुपर्ने उनको कथन थियो ।
फरक प्रसंगमा उनले नेपाली कांग्रेसको जनजागरण अभियानको सफलता देखेर आत्तिएकाहरू कम्युनिष्टहरूले बाँकेमा काँग्रेसको कार्यक्रममा आक्रमण गरेर आफ्नो चरित्र उदांगो पारेको बताए ।
‘अधिकानायवादी सोच भएका कम्युनिष्टहरू जागरण कार्यक्रममा जनताको आकर्षण देखेर आत्तिएका छन् । आफूहरूको भ्रष्टाचारको पोल खुल्ने डरले आत्तिएकै कारण आक्रमण गरेका छ्न्,’देउवाले भने ‘दोषीलाई कारबाही नहुँदासम्म कांग्रेस चुप लागेर बस्दैन ।’
शान्तिपूर्ण रूपमा सभा समारोह गर्न पाउने अधिकार सबैमा रहेको र त्यसैको लागि कांग्रेस सात सालदेखि अनवरत लड्दै आएको हुँदा भविष्यमा पनि लडिरहने उनले बताए । सेतोपाटी