काठमाडौं ८ असोज । नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री गगन थापाले सरकारको बेइमानीमा समाजवादी पार्टीले सघाउने गरेको आरोप लगाएका छन् ।
जनकपुरस्थित पार्टी कार्यालयमा मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा नेता थापाले वर्तमान सरकार विगतका सम्झौताहरुलाई लत्याउदै विधेयक ल्याउन लागेको आरोप समेत लगाए । उनले विधेयक ल्याउनमा समाजवादी पार्टीले समेत सघाउने गरेको बताउदै सरकारको बेइमानीमा समाजवादी पार्टी साझेदार बनेको बताए ।
नेता थापाले वर्तमान सरकारको शक्ति दुरुयोग रोक्न दशैंपछि सडक संघर्षमा उत्रने बताए । संसदलाई सडकसँग लगेर जोड्ने काम कांग्रेसले गर्ने बताए । उनले भने, सडकको ताकतको आधारमा संसदको शक्तिको दुरुपयोग गर्ने सरकारको प्रयासको प्रतिरोध दशैं पछाडी कांग्रेसले गर्छ । नेता थापाले अब कांग्रेसको एउटै एजेण्डा २०७९ सालको चुनाव जित्ने चाहना तथा इच्छा रहेको बताए ।
उनले अबको मिसन भने संविधानलाई संशोधन गराउदै स्वीकार्य बनाउने रहेको पनि बताए । उनले संविधानको माइबाप कांग्रेस भएकोले वाचा समेत पुरा गर्ने स्पष्ट पारे। संविधान संशोधन गरी स्वीकार्य बनाउन सकिएन भने देशमा दुर्घटना हुन्छ,उनले भने, त्यसैले अगामी चुनाव जितेर संविधान संशोधन काँग्रेसले गर्छ ।
उनले संविधान असफल भयो भने अहिलेको व्यवस्था र उपलब्धी ध्वस्त हुने समेत बताए । उनले संविधान च्यात्नुपर्छ भन्नेहरुले संविधान संशोधन गरी सर्व्स्विकार्य बनाउनेतिर लाग्न आह्वान समेत गरे । उनले चीनको राष्ट्रपति सि जिन पिङ नेपाल भ्रमणको पुर्वसंध्यामा नेकपा अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीले सि विचारधारा अबलम्ब गर्नुपर्ने धारणा राखेकोमा आपत्ति जनाए ।
उनले भने, मोदी आएको बेला मोदी विचारधारा बोक्ने कुरा गर्छ। सि आउने बेला सि विचारधार बोक्ने कुरा गर्छ । यो सबै अलमलाउने खेल मात्र हो ।