नेपालीको महान् चाड बडादशैं आजदेखि शुरु भएको छ । पहिलो दिन आश्विन शुक्ल प्रतिपदामा घटस्थापना गरिन्छ । आज दशैंको पहिलो दिन घरघरमा जमरा राखिदैछ । पवित्र नदीको बालुवा र माटो राखेर त्यसमा जौ, गहुँ, मकैको बिउ बाक्लै छरेर विजया दशमी दिन आफूले लगाउने जमरा राखिन्छ ।
नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा रामचन्द्र गौतमका अनुसार यस वर्ष घटनास्थापना र बिजयादशमी टीकाको साइत १०ः३५ बजे रहेको छ ।
नवरात्रको यस अवधिमा आदिमाता आद्यशक्ति महामाया देवी भगवतीका विभिन्न रुपको प्रतिदिन विधिपूर्वक पूजा गरिन्छ ।
नवरात्रको पहिलो दिन आदिशक्ति भगवतीको प्रथम रुप माता शैलपुत्रीको पूजाआजा गरिन्छ । हिमालय पर्वतकी छोरीका रुपमा प्रादुर्भाव देवी शैलपुत्रीको पूजा गर्नाले माता प्रकृति प्रसन्न भई शक्ति, अन्नसमृद्धि र सुखशान्ति प्राप्त हुने शास्त्रहरुमा उल्लेख छ ।
दशैंघरमा पहिलो दिनदेखि नौ दिनसम्म क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्ड स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पुजा गरिन्छ । नवरात्रको सातौँ दिन फुलपाती भित्र्याइन्छ । उक्त दिन कालरात्रि भगवतीको पुजाआराधना गर्नाले सम्पूर्ण कष्ट नाश हुने शास्त्रीय मान्यता छ ।