सार्वजनिक जमिननै बन्दकी राखेपछि…

चन्द्रपुर। सार्वजनिक जमिन दुष्टबन्धकी राखी रकम अपचलन भएको पाइएको छ ।
बजार अतिक्रमण गरी बसेको वस्ती स्थानान्तरण गर्न साविकको गाउं विकास समितिले एक दशकअघि खरिद गरेको जमिन बजार व्यवस्थापन समितिका अध्यक्षले नै दृष्टिबन्धकी राखी रकम अपचलन गरेको पाइएको हो ।
साविक चन्द्रनिगाहपुर गाउं विकास समिति ७ हाल चन्द्रपुर नगरपालिका ६ मा रहेको जिल्लाकै पुरानो हाटबजार अतिक्रमण गरी बसेको वस्ती स्थानान्तरण गर्न गाविसले खरिद गरेको जमिन समितिका अध्यक्ष रामबहादुर घलानले दुष्टिबन्धकी राखी रकम अपचलन गरेको पाइएको हो ।
तत्कालीन गाविस प्रमुख उदय देवकोटाले बजार अतिक्रमणकारी १२ जनालाई बजारबाट स्थानान्तरण गर्ने योजनामुताबिक बजार व्यवस्थापन समितिका अध्यक्ष घलानको नाममा पाँच कट्ठा जमिन खरिद गर्नु भएको थियो । गाविस प्रमुख देवकोटाकाअनुसार गाविसकै नाममा जमिन खरिद गर्दा झन्झटिलो विभिन्न कानुनी प्रक्रिया अपनाउनु पर्ने भएकोले अध्यक्ष घलानको नाममा जमिन रजिष्टूेशन गरिएको हो । तर पछि त्यो जमिन गाविसलाई हस्तान्तरण गर्ने शर्त राखिएको थियो ।
बजार क्षेत्रदेखि पश्चिम डाबरी चोक जाने बाटो नजिक खरिद गरिएको उक्त क्षेत्रफलको जमिनमा बजारको आठ घरधुरी स्थानान्तरण गरियो । जसमा पाँच कट्ठा जमिनमध्ये बाँकी रहेको १५ धुर जमिन हालसम्म नगरपालिकाको नाममा आउन सकेको छैन । सोही जमिन समितिका अध्यक्ष घलानले समितिकै एक सदस्य विष्णु महतोलाई दृष्टिबन्धकी राखी सात लाख रुपियाँ अपचलन गरेको पाइएको हो ।
अध्यक्ष घलानले बजार व्यवस्थापन गर्दा बजार क्षेत्रमा माटो भर्न, ड्याम लगाउन लगायतको काममा लागेको खर्च नगरपालिकाले समयमा भुक्तान नगरेपछि बाध्य भई उक्त क्षेत्रफलको जमिन दृष्टिबन्धकी राखी खर्च समायोजन गरेको बताउनु भयो । दृष्टिबन्धकी राखि लिएको सात लाख रुपियां नतिरेसम्म जमिन फुकुवा नहुने उहाँ बताउनु हुन्छ । उक्त रकम नगरपालिकाले नै तिर्नु पर्ने उहांको तर्क छ ।
यता वडा अध्यक्ष खड्गबहादुर कुशुवारले बजार क्षेत्रमा गरेको कामको भुक्तानी भइसकेको बताउनु भयो । भुक्तानी भई सकेपछि पनि जमिन फुकुवा नगर्नाले समितिका अध्यक्ष घलानको नियतमा शंका लागेको उहाँको धारणा रहेको छ । उक्त जमिन सार्वजनिक चासोको विषय बनेको छ । अहिले ३० लाख रुपियां भन्दा बढी मूल्य पर्ने सो जमिन नगरपालिकाले तुरुन्त आफ्नो नाममा गराउन पहल गर्नु पर्ने स्थानीयले माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles