जनकपुरधाम,१२ माघ ।
प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम हुने टुंगो लाग्ने भएको छ ।
प्रदेशको नामाकरण र राजधानी टुंगो लगाउन सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित संसदीय विशेष समितिले प्रदेशको राजधानी जनकपुर नै तोक्ने सहमति भएको छ ।
जनकपुरलाई नै राजधानीको रुपमा कायम गर्ने निर्णय सर्वसम्मतिले पारित भएको समितिका संयोजक समेत रहेका सभामुख सरोजकुमार यादवले जानकारी दिए ।
उनका अनुसार समितिले प्रदेश राजधानीको सीमा समेत टुंगो लगेको छ । उत्तरमा धनुषाको मिथिला नगरपालिकाको ढल्केवर, दक्षिणमा भारतको अन्तराष्ट्रिय सीमा तथा पूर्व र पश्चिमतर्फ मिथिला माध्यमिकी परिक्रमा क्षेत्रसम्म राजधानीको सिमाना तोक्ने सहमति भएको सभामुख यादवले बताए ।समितिले टुंगो लगाएको राजधानी जनकपुर प्रदेशसभाको दुईतिहाई बहुमतले पारित गरेपछि राजधानीको औपचारिक रुपमा कायम हुने छ ।
विभिन्न दलका प्रस्तावक तथा समर्थक, प्रस्तावका संशोधनकर्ता समेतलाई बोलाएर छलफल गरी उक्त निर्णयमा पुगिएको सभामुख यादवले बताए । पारित भएको प्रस्ताव नेकपा, समाजवादी र राजपाले दर्ता गरेका थिए भने नेपाली कांग्रेसले जनकपुरधाम उपमहानगरपालिकाभित्र राजधानी हुनुपर्ने प्रस्ताव गरेको थियो ।
समितिमा उपसभामुख उपमा देव, नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डल, सांसद रामकुमार यादव, नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादव र सांसद नरेश यादव, समाजवादी पार्टीका प्रमुख सचेतक शैलेन्द्रकुमार यादव र संसदीय दलका उपनेता रामआशिष यादव, राजपा नेपालका प्रमुख सचेतक परमेश्वर साह र सांसद रानी शर्मा तिवारी तथा नेपाल संघीय समाजवादीकी सांसद सावित्रीदेवी साह सदस्य छन् ।
प्रदेशको राजाधानी र नाम सम्बन्धमा विभिन्न दलका सांसदहरूले प्रदेश सभामा भदौ ५ गते प्रस्ताव दर्ता गरेका थिए । प्रस्ताव दर्ता भएपछि प्रदेश सभाको बैठकबाट नै सभामुख यादवको संयोजकत्वमा ११ सदस्यीय विशेष समिति गठन गरिएको थियो । प्रदेशको राजधानीको विषयमा विशेष समितिमा टुंगो लागेपनि नामको विषयमा सहमति हुन सकेको छैन । नामको टुंगो लगाउने विषयमा विशेष समितिमा छलफल तथा कसरत भइरहेको जनाएको छ ।