नगरपालिकाको ठेक्का,उप्किएको कालोपत्रे पुनःटालटुल

816

चन्द्रपुर,२ चैत ।
गुणस्तरहीन निर्माण सामाग्रीको प्रयोग गरेको कारण तीन महिना नपुग्दै उप्किएको चन्द्रपुर नगरपालिका ५ मा निर्मित कालोपत्रे टालटुल गरिएको छ ।
नगरपालिकाले तोकेको मापदण्ड बमोजिम निर्माण सामाग्री प्रयोग गर्न नसक्दा कालोपत्रे चाँडै उप्किएको समाचार माघ २७ गते गोरखापत्रमा प्रकाशित भएपछि निर्माण व्यवसायीले उप्किएको ठाउँमा टालटुल गरेको हो । टालटुल समेत मा स्तरीय कार्य नहुँदा समतल हुनु पर्ने सडक उबडखाबड भएको छ । सडकको सौन्दर्य नै ह्रास भएको स्थानीयको गुनासो छ ।
चन्द्रपुर सरकारी अस्पताल अगाडीदेखि पूर्व—पश्चिम राजमार्ग छुने करिब ७०० मिटर सडक कालोपत्रे गर्न कमल कन्स्ट्रक्सन पतौरा ४ रौतहटले ठेक्का पाएको थियो । नगरपालिकाको ४६ लाख ४६ हजार ९०१ रुपिया“को योजना रहेको उक्त सडकमा कन्स्ट्रक्सनले १९ लाख ६९ हजार ४५२ रुपिया“मा ठेक्का पारेको नगरपालिकामा अभिलेख छ । अभिलेख अनुसार कन्स्ट्रक्सनले योजना लागत भन्दा ५८ प्रतिशत कम रकममा निर्माण ठेक्का लिएको छ ।
उक्त सडकमा नगरपालिकाको स्टिमेटबमोजिम निर्माण सामाग्री प्रयोग नगरेको कारण कालोपत्रे उप्किएको जानकारी दिनुहु“दै वडा अध्यक्ष सञ्जय काफ्लेले हाल निर्माण व्यवसायिले सो कालोपत्रे टालटुलमा समेत लापरवाही गरेको बताउनु भयो । उहा“का अनुसार कात्तिक महिनामा निर्माण सम्पन्न गरेको उक्त सडकको दर्जनौं स्थानमा उप्किएको कालोपत्रे टालटुल गर्ने क्रममा राम्ररी नपेलिएकोले सडक उबडखाबड देखिएको हो ।
यता कन्स्टूक्सनका प्रोपराईटर कमलराय यादव भने उप्किएको स्थानको कालोपत्रे टालटुल गरी बिल भुक्तानी गराउने प्रयासमा रहनु भएको बुझिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण सिग्देलले सडक गुणस्तरहीन भएको गुनासो वडा कार्यालय मार्फत आएको हुनाले त्यसको बिल भुक्तान प्रक्रिया अघि बढ्न नसक्ने बताउनु भयो ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg