निजगढ,१९ चैत्र । निजगढ नगरपालिकाले कोरोना भाईरस नियन्त्रण तथा रोकथाम गर्नकालागी बिभिन्न उपसमितिहरु गठन गरेकोछ । नगरस्तरीय कोरोना भाईरस प्रकोप न्यूनीकरण समन्वय तथा अनुगमन समितिका संयोजक एवम निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालको सभापतित्वमा बुधबार सम्पन्न बैठकले कोरोना भाईरस नियन्त्रण र रोकथाम गर्नकालागी उपसमितिहरु गठन गरेकोहो ।
बैठकले शिक्षक यादव प्रसाद तिमल्सिनाको संयोजकत्वमा नगरभित्र सामुदायिक स्वास्थ्य सम्बन्धि जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरु संचालन गर्ने उपसमिति,पत्रकार गोकुल घोरासाईनीको संयोजकत्वमा संचार उपसमिति,नगर भित्र रहेका होटेलहरुमा आवश्यकता अनुसार क्वारेन्टाइन तथा आईसोलेसन कक्षको स्थापनाकालागि समन्वय गर्न होटेल तथा पर्यटन व्यवसायी संघ निजगढका अध्यक्ष प्रभात सिग्देलको संयोजकत्वमा,कोरोना भाईरसबाट उत्पन्न हुने प्रकोपमा राहत,उद्धार तथा पुनर्स्थापना सम्बन्धि कार्यमा खटिने स्वयमसेवक र संघ संस्थाहरुसंग समन्वय गर्न नेपाल रेडक्रस सोसाईटी निजगढ उपशाखाका सभापति नारायण शर्मा उप्रेतीको संयोजकत्वमा नगरपालिकाले बिभिन्न उपसमितिहरु गठन गरेकोहो । यसैगरी बैठकले प्रतिनिधि सभा सदस्य उमाकान्त चौधरी,पुर्व मन्त्रि पुरुषोत्तम पौडेल,प्रदेश सभा सदस्य त्रिलोकी चौधरी,होटेल तथा पर्यटन व्यवसायी युवराज लामा,स्थानीय बुद्धिजिवि र समाजसेवीहरु पेमासिद्धि लामा,ज्ञानेन्द्र चौलागाईं र सुदर्शन प्रसाद कोईरालालाई नगरस्तरीय कोरोना भाईरस प्रकोप न्यूनीकरण समन्वय तथा अनुगमन समितिको सल्लाहकारमा चयन गरेकोछ । बैठकले नगरस्तरीय कोरोना भाईरस प्रकोप न्यूनीकरण समन्वय तथा अनुगमन समितिको प्रवक्तामा नगरपालिकाका जनस्वास्थ्य अधिकृत रमेश लामालाई चयन गरेको छ ।
यस्तै वडा स्तरमा गठन भएका वडा स्तरीय कोरोना भाईरस प्रकोप न्यूनीकरण समन्वय तथा अनुगमन समितिलाई विदेशबाट फर्किएका तथा शंकास्पद व्यक्तिहरुलाई होम क्वारेन्टाइन तथा नगरपालिकाबाट तयार पारिएका क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन र राहत वितरण गर्नकालागी विपन्न वर्गका परिवारको नामावली संकलन गर्न अनुरोध गर्ने निर्णय समेत गरेकोछ । बैठकमा निजगढका मेयर सुरेश कुमार खनालले नगरपालिकाको तर्फबाट कोरोना भाईरस नियन्त्रण तथा रोकथामकोलागि नगरपालिकाबाट गरिएको कार्यहरुको बारेमा जानकारी गराउनुभएको थियो ।


