आज पहिलो साउने सोमबार,यस्तो छ आजको दिन

आजको पञ्चांग 
आज मिति २०७७ श्रावण ५ गते सोमबार, इस्वीसंवत जुलाई २० तारिख सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार श्रावणकृष्णपक्ष चलिरहेको छ । 

सौरमान अनुसार आज श्रावणकृष्णपक्षको अमावश्य तिथि रहनेछ । आज पुनर्वसु नक्षत्र, विष्कुम्भादि योगमा हर्षण, करणमा चतुष्पद, आनन्दादि योगमा धूम्र रहनेछ । 

सूर्य कर्कट राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछ । आज दिनमान ३४ घटि ० पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर २१ मिनेटमा मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ बजेर ५८ मिनेटमा हुनेछ । 

आज पहिलो साउने सोमबारे औंशी । दिन खास रहेको छ । शिवजीलाई विशेष रुपले सम्झने दिन ।

आजको राशिफल
मेषः
 समय शुभ छ । थोरै समय र सानो लगानीबाट पनि मनग्गे धन आर्जन हुनेछ । आफन्त तथा कुटुम्बसँग भेटघाटको मौका जुर्नेछ । आजै नयाँ कामको योजना बनाउन सकिनेछ । पढाईमा पनि सफलता हात लाग्ने दिन रहेको छ । आफ्ना प्रतिस्पर्धीलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । बोलीको प्रभाव बढ्ने हुँदा बोलेरै धेरै कामहरु सम्पन्न गर्न सकिनेछ ।    

वृषः समय शुभ छैन । चन्द्रमा शत्रु स्थानमा छन त्यसैले महत्वपूर्ण कामहरु सम्पादन गर्न मुस्किल हुनेछ । आर्थिक मुद्दामा आफन्त तथा सहयोगीसँग मनमुटाव सिर्जना हुनेछ भने आम्दानीका बाटाहरु साँघुरा हुनेछन् । व्यापार व्यावसायमा लगानी गर्ने अवसर आए पनि समयले साथ नदिंदा घाटा लाग्नेछ । दाजुभाई तथा छिमेकीसँग अनावश्यक विवाद पर्दा मानसिक तनाव बढ्नेछ ।

मिथुनः समय अत्यन्तै शुभ छ । भाग्यस्थानकोे चन्द्रमाको प्रभाव प्रत्यक्ष पर्ने हुनाले लामो दूरीको धार्मिक यात्राको सम्भावना रहेको छ । पारिवारिक माहोलमा दिन बित्ने तथा आफन्तबाट सहयोग पाईनेछ । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति गरी अरुलाई देखाउन सकिनेछ । आज राजनीति कर्मीहरुलाई पनि समय शुभ रहेको छ । 

कर्कटः समय खराब रहनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ सहयोग नपाईने हुँदा आफ्ना योजनाहरु अधुरै नै रहनेछन् । राज्यको विभिन्न पदमा बस्नेले समयमा काम नगरिदिंदा तपाइँका कामहरु थाती रहनेछन् । गोप्य सूचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ, ध्यान दिनुहोला । मनोबल कमजोर हुँदा विद्या तथा प्रतिस्पर्धामा अरु भन्दा पछि परिनेछ ।

सिंहः समय शुभ छ । यसअघि रोकिएका काम आज सुचारु हुनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने सञ्चिती धन बढ्नेछ । बौद्धिकताको उपयोग गरि आफ्नो ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । परिवार तथा जीवन साथीको सहयोगले उत्साह जगाउनेछ । सुन्दर तथा विलासी पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । टाढाको यात्रा पनि फलदायी रहनेछ । आज पूर्वतिरको यात्रा भने नगर्नुहोला ।

कन्याः समय सामान्य छ । तपाईको खुट्टा तान्ने मानिसहरु सक्रिय हुनेछन् । शत्रुहरु पनि सलबलाउनेछन् । आज न्यायालयसँग सम्बन्धित काम गर्दा विशेष ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नुहुनेछ । खानपान तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला । आज एक्लै खोला तर्ने तथा पौडी खेल्ने नगर्नुहोला । स्वास्थ्य सम्बन्धी समस्या पनि दुःख दिन सक्नेछ ।

तुलाः समय खराब छ । दाजुभाइबीच अंशवण्डाको झगडा हुनेछ । घरका सदस्य केही न केही दुर्घटनामा गर्न सक्ने देखिन्छ । व्यवसायीहरुका लागि आज घाटाको दिन रहेको छ । तर कृषि तथा पशुपालन व्यावसायमा धन लगानी गर्नेहरुका लागि आजको दिन फलदायी रहनेछ । आज पश्चिमतर्फको यात्रामा सोचेजत्तिकै सफलता मिल्नेछ । तर पूर्वतर्फ नजानुहोला ।

वृश्चिकः समय शुभ छैन । सवारी साधनको खरिद बिक्री गर्दा ध्यान दिनुहोला । व्यवसाय गर्दा नीति नियम तथा कानुनको पालना नगर्दा दण्ड तथा जरिवाना तिर्नुपर्ने हुन सक्छ । आज मध्यान्हपछिको समय राम्रो रहेकोले व्यापारमा लागनी बढोत्तरीको योग रहेको छ । श्रीमतीसंग झगडा पर्दा अप्रिय घटना पनि नघट्ला भन्न सकिन्छ । त्यसैले यसमा पुरुष मानिस सजक हुनैपर्छ ।

धनुः समय शुभ छ । आर्थिक समस्या आज समाधान हुनेछ । पशुपालनबाट आम्दानी बढ्नेछ । छोरोछोरीको सहयोगले तपाइँको महत्वपूर्ण काम सम्पादन हसनेछ । आज घरमा धार्मिक कार्यक्रम गर्दा एकदमै राम्रो हुनेछ । पश्चिम र दक्षिणतर्फको यात्रा गर्दै हुनुहुन्छ भने निकै सफलता मिल्नेछ । आफन्तसंगको भेटघाट निकै महत्वपूर्ण तथा रमाइलो हुनेछ । तर उत्तर र पूर्वतर्फ आज झुक्किएर पनि नजानुहोला ।

मकरः समयले राम्रो साथ दिनेछ । वैदेशिक रोजगारबाट नगद प्राप्त हुनेछ । आज जन्म दिन रहेकाहरुका लागि दिन निकै राम्रो रहेको छ । आज बिहानै महादेवको पूजा र दर्शन गर्नाले मनमा शान्ति छाउनेछ । अध्ययनमा पनि प्रगति हुँदै जाने योग रहेकोछ । तपाइँ मजदूर हो भने यसअघि रोकिएका पूरै पारिश्रमिक पाउनुहुनेछ । केही सरकारी कर्मचारीका लागि पदोन्नतिको अवसर पनि मिल्नेछ ।

कुम्भः आज स्वास्थ्यमा समस्या आउनेछ । तपाइँकै घर भित्रका मानिसले तपाइँको आलोचना गर्नेछन् । आज तपाइँको हातबाट कसैलाई नगद पैसा नदिनुहोला । यात्रा गर्दै हुनुहुन्छ भने योजना परिवर्तन गर्नुनै बुद्धिमानी हुनेछ । चिसो खानेकुरा र मदिरा सेवन आज गर्दै नगर्नुहोला । परिवारमा झगडाको सम्भावना देखिन्छ त्यसैले तपाइँ शान्त भएर बस्नुहोला । 

मीनः समय खराब रहनेछ । मानसिक चोट पर्ने व्यवहार तपाइँकै आफन्तले गर्नेछन् । कसैसंग आज ऋण लिंदै हुनुहुन्छ भने तपाइँके हातबाट नलिनुहोला । गाडी चलाउँदै हुनुहुन्छ भने पनि निकै विचार गर्नुहाला । पानीमा भिज्ने, एक्लै हिंड्ने काम आज नगर्नुहोला । घुँडा दुख्ने समस्याले सताउन सक्छ । केही पुरुष व्यक्तिलाई आज जागीर छोडेर हिंड्नुपर्ने अवस्था पनि सृजना हुनेछ । 

साइतः आज मिथुन राशिमा चन्द्रमा छन् त्यसैले पश्चिम र दक्षिण बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज सोमबार हो, पूर्व दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यताबश अन्य दिशाको यात्रा पनि गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । 
 
आजको शुभ लाभादि बेला 
बिहान ५ः२१ बजेदेखि         ६ः५१ बजेसम्म        अमृत बेला
बिहान ६ः५१ बजेदेखि         ८ः२१ बजेसम्म        काल बेला
बिहान ८ः२१ बजेदेखि         ९ः५१ बजेसम्म        शुभ बेला
बिहान ९ः५१ बजेदेखि        ११ः२१ बजेसम्म        रोग बेला
बिहान ११ः२१ बजेदेखि        १२ः५१ बजेसम्म        उद्धेग बेला
मध्यान्ह १२ः५१ बजेदेखि      २ः२१ बजेसम्म        चर बेला
दिउँसो २ः२१ बजेदेखि        ३ः५१ बजेसम्म        लाभ बेला
दिउँसो ३ः५१ बजेदेखि        ५ः२१ बजेसम्म        अमृत बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः बिहानमा ७ः३० देखि ९ः०० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोटः यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles