चन्द्रपुर,३ फागुन ।
चन्द्रपुर नगरपालिकाले चांदी खोला उत्खननको लागि ठेक्का दिएको कम्पनीले नियम बिपरित खोला उत्खनन गरेको स्थानीयले गुनासो गरेकाछन् । खोला उत्खनन गर्न ठेक्का पाएको आशिक कन्स्ट्रक्सन,बृन्दावन रौतहटले मोतीपुर घाट र मर्दर सिमसारघाट बाट नियम बिपरित मनलाग्दी खोला उत्खनन गरेको भन्ने जनगुनासो बढेपछि नगरपालिकाले स्थलगत अनुगमन गर्दा नियम मिचेर,३देखि ४ मिटर गहिरो पारेर नदिजन्य पदार्थ उत्खनन गरेको पाइएको नपाका अनुगमन संयोजक काजीमान कुश्वारले बताए । स्थलगत अनुगमनमा गएका अनुगमन समितीका संयोजक कुश्वार र सदश्य तथा वडा नम्बर ४ का वडाध्यक्ष अमर आलेले नदि उत्खनन रोक्न निर्देशन समेत दिएका छन ।
आर्थिक बर्ष २०७७/७८ का लागि २ प्याकेजमा ३६/३६ लाखमा मर्धर सिमसार र मोतिपुर घाटको चादी खोलाको ठेक्का पाएको आशिक कन्स्ट्रक्सनको मनोमानी बढ्दै जान थालेपछि स्थानीयले केही समय अघि अबरोध समेत गरेका थिए । नगरपालिकालाई राजस्व समेत नबुझाउने सो कन्स्ट्रक्सनले २१ लाख बराबर राजस्व समेत नगरपालीकामा तिर्न बाकी रहेको नपाका राजस्व फाट प्रमुख राजेश सागरले जानकारी दिए । यता २ प्याकेजमा ६० हजार घनमिटर नदिजन्य पदार्थको उत्खनन् अनुमती पाएको भएपनि सो कन्स्ट्रक्सनले सो परिमाण भन्दा बढी नदिजन्य पदार्थ उथ्खनन गरिसकेको स्थानिय युवा सरोज बछारको दाबी छ । ठेकेदार कम्पनीले नगरपालिकाले तोकेको मापदण्ड भन्दा तेब्बर गहिरो खाल्डो बनाएको र सोही खाल्डोका कारण खोला गाउमा पस्ने खतरा बढेको स्थानीयहरु बताउछन । खोला दोहनका लागि ठेक्का पाएका ठेकेदारले खोलाको ग्रेबल ढुवानी गर्दा पहिला बनिसकेका बाटो समेत बिगारेको स्थानीय पवन महतले बताए । पानी चुहाउदै लैजाने गरेका कारण मोटर साईकल र साईकलमा बाटो हिड्नेहरु चिप्लेर लडने खतरा बढदै गएको भएपनि सम्बन्धीत निकायले त्यस तर्फ ध्यान नदिएको स्थानीयको भनाइ रहेको छ । खोलानै गाउमा पस्ने गरी उत्खनन् भएकाले खोला उत्खनन बन्द हुनुपर्ने स्थानियको माग छ ।


