चन्द्रपुर–रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १ नुनथारमा घुम्न आउने पर्यटकहरुको फोटो खिचेरै मासिक ५० हजारभन्दा बढि २ युवकले कमाइ रहेका छन् ।
पर्यटकीय तथा धार्मिक स्थल नुनथरमा घुम्न आउने पर्यटकहरुको फोटो खिचेर २७ वर्षिय अमृत घिसिङ र २४ वर्षिय सुरज मगरले दैनिक थोरैमा १ हजार देखि १५ सयसम्म र बढिमा ५ देखि ६ हजार सम्म कमाउदै आएका हुन ।
चितवनको नारायणी नदिको किनारमा केही युवाहरुले फोटो खिचेर राम्रो आम्दानी गरेको देखेपछि उनीहरुलाई पनि आफ्नै घर छेउमा रहेको नुनथर घुम्न आउने पर्यटकको फोटो खिच्न पाए त कमाइ हुन्थ्यो कि भन्ने लाग्यो ।
त्यसपछि उनले अनलाइनबाट ९० हजार तिरेर सेकेन्ड ह्याण्ड डिएसआरएल क्यामेरा किनेर २ महिना अघिदेखि नियमित फोटो खिच्ने काम सुरु गरे ।
अहिले मानिसहरुमा राम्रो गुण्स्तरको फोटो खिचेर सामाजिक सञ्जालमा अपलोड गर्ने रहर बढ्दो छ । नुनथर घुम्न आउने मानिसहरुको सोही रहरलाई पुरा गर्दै आइरहेका छन्, यी दुई युवाले ।
उनीहरुले एउटा फोटो खिचेको २० रुपैया लिन्छन् । उनीहरुले फोटो खिचिसकेपछि त्यसलाई एडिट गरेर सम्बन्धित व्यक्तिको मोवाइलमा हालिदिने गरेका छन् ।
पछिल्लो समय युवापुस्ताको टिकटक मोहलाई मध्यनजर गर्दै उनीहरुले टिकटक भिडियो पनि बनाइदिने गरेका छन् । जसको उनीहरुले ५० रुपैया लिने गरेका छन् ।
विशेषगरी सोमबार, शनिवार, सार्वजनिक विदाको दिन अनि नयाँ वर्षमा नुनथरमा पर्यटकहरुको घुइचो लाग्ने गरेको छ ।
अरुले गरेको देखेर गरौ न त के हुदो रहेछ भनेर सुरु गरेको फोटोग्राफी पेशाले राम्रै आम्दानी हुन थालेपछि अब यसलाईनै करियर बनाएर अगाडि बढ्ने सोच दुबैको छ ।
भविष्यमा राम्रो अनि सफल फोटोग्राफर बन्न चाहन्छौ अमृत भन्छन्,विदेश गएर दुःख गर्नुसट्टा घरमै परिवारस“ग बसेर राम्रो कमाइरहेका छौ ।
अब यही पेशालाईनै व्यवसायिक बनाएर अघि बढ्ने हाम्रो योजना छ ।
नुनथर प्रवेशद्धार अगाडिनै जिरो प्वाइन्ट फोटो स्टुडियो नाम लेखेको वोर्ड राखेर उनीहरु बिहानदेखि सा“झसम्म बागमती किनारमा रहेको नुनथरका रमणिय दृश्य अगाडि पर्यटकको चाहाना बमोजिम उनीहरुको फोटो खिच्ने गरेका छन् ।


