गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणकार्य रोकियो

चितवन – चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा लगाइएको बार केही स्थानीयले भत्काएपछि निर्माणको काम रोकिएको छ ।बुधबार बिहान डोजरसहित आएका केही व्यक्तिले जस्तापाताले लगाएको बार भत्काइदिएपछि धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल(धुर्मुस)ले विज्ञप्ति निकालेर तत्कालको लागि निर्माण कार्य स्थगित गरेको जानकारी गराउनुभएको छ ।

बार भत्काउने क्रममा उनीहरुले धुर्मस–सुन्तली फाउण्डेशनका कर्मचारीहरुलाई धम्कीसमेत दिएका थिए । काम गर्ने वातावरण नभएकाले काम स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ । कर्मचारी, कामदारको जिउ ज्यान, भौतिक सम्पतिको सुरक्षाको विषयमा खतरा र गम्भीर परिस्थितिको सिर्जना भएको हुँदा यो सम्बन्धमा स्थायी समाधान र कार्यवातावरण तयार नभएसम्मका लागि कामकारवाही स्थगित गरिएको बताइएको छ ।

रंगशाला निर्माणको काम सुरु गरेदेखि नै कार्य वातावरणमा असहजता सिर्जना गर्ने, विभिन्न अनुचित माग राख्ने र फाउण्डेशनका कर्मचारी तथा सहयोगीहरुलाई धम्क्याउने लगायतका अनुचित कार्य भैरहँदा पनि चितवनवासीको सम्मानमा चोट नपुगोस् भनेर यस्ता गतिविधिलाई सामान्य रुपमा लिँदै काम अघि बढाइरहेको अवस्थामा अहिले सुरक्षा माथि नै चुनौती बढेपछि बाध्य भएर काम रोक्नु परेको फाउण्डेशनको भनाइ छ ।

दोषीलाई कारबाहीको माग

घटना पश्चात् अनुगमनमा पुगेकाहरुले दोषीलाई तत्काल पक्राउ गरी कारबाही हुनुपर्ने माग गरेका छन् । घटनाको चौतर्फी विरोध भएको छ । दोषीलाई कारबाही गरी निर्माणको कामलाई प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने माग चितवनका बासिन्दाको छ । 

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत लगायतका राजनैतिक दलका नेताको टोलीले स्थलगत अनुगमन गरेको छ । 

जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटोलीले घटना असोभनीय र दुःखद् भएकाले दोषीलाई कारबाही हुनुपर्ने बताउनुभएको छ । अन्तर्राष्टिय गौरवको आयोजनाको रुपमा काम भइरहेको रंगशाला निर्माणको क्रममा यस्तो घटना हुनु दुःखद विषय भएकोले चाहो जोकोही होस् यस्तो गतिविधिमा संलग्नलाई तत्काल कार्वाही गर्नुपर्ने उहाँले बताउनुभयो । 

यसैगरी प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले घटनामा संलग्न जोसुकै भए पनि कडा कारबाही गरिने बताउनुभएको छ । भत्काउने काममा संलग्न भएका मुख्य व्यक्तीको खोजी भइरहेको र संकास्पद केही व्यक्तिलाई पक्राउ गरिएको बताउँदै प्रमुख जिल्ला अधिकारी बस्नेतले कानुन हातमा लिएर मनलाग्दी गर्ने कोहीलाई नछाडिने बताउनुभयो ।

सडक बाटोको विवाद

रंगशालाको सीमानामा पर्ने सडक बाटो फारकीलो बनाउने विषयलाई लिएर बनेको संरचनामा डोजर लागाएका हुन् । विश्वविद्यालयसँग साँध जोडिएका जग्गाधनीहरूले बाटो फराकिलो पार्नुपर्ने माग राखेका थिए । 

निर्माणाधीन क्रिकेट रंगशालाको पश्चिमतर्फबाट अहिले पनि सडक गएको छ । विश्वविद्यालयबाट जग्गा प्राप्त भैसकेपछि फाउण्डेशनले २० विगाहा ६ कठ्ठा जग्गामा जस्ताको बार लगाउने क्रममा बस्ती क्षेत्रमा विवाद भएको थियो । बस्ती र रंगशालाको सीमानामा ७ मिटरको सडकबाटोलाई केही स्थानीयले ३१ मिटरको बनाउनुपर्ने माग गरेका थिए । 

बस्ती क्षेत्रमा आफ्ना नाममा भएका जमिनमा भन्दा रंगशालाका लागि छुट्याइएको जग्गामा पर्ने गरी ३१ मिटर सडक बाटो बढाइनुपर्ने केही स्थानीयको माग रहेको थियो । रंगशालाका लागि विश्व विद्यालयले दिएको जग्गाको चौडाइ २५० मिटर मात्र रहेको र ३१ मिटरकोे सडक रंगशालाकै जग्गामा पर्नेगरी सडक बनाउदा रंगशाला बनाउन कठिन हुने थियो ।

फाउण्डेसनका तर्फबाट १० मिटर छोड्ने प्रतिबद्धता भएको थियो । अहिले भइरहेको ७ मिटिर रंगशालाको तर्फबाट १० मिटर र स्थानीयले ३ मिटर सडकलाई छुट्याएर २० मिटरको सडक बनाउने विषय लगभग टुंगिएको थियो । केही स्थानीय अगुवाहरुसँग छलफल पश्चात अघिल्लो दिन यही अनुसार बार लगाइएको थियो । तर भोलिपल्ट बिहान केही स्थानीयको उक्साहटमा क्षतविक्षत हुनेगरी डोजर लागाएर बनेका संरचना भत्काइएको हो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles