काठमाडौं । राजधानीबाट आइतबार प्रकाशित विभिन्न पत्रपत्रिकाले फरक – फरक विषयमा समाचार छापेका छन् । नागरिक दैनिकले महाधिवेशन कि संरचना निर्माण भन्ने अन्यौलताको बिचमा रहेको नेपाली कांग्रेस अलमलमा परिरहेको विश्लेषणसहितको समाचार प्रकाशित गरेको छ । नागरिक दैनिकले ‘अलमलमा कांग्रेस’ शीर्षकमा प्रमुख समाचार छापेको छ । समाचारमा जनाइए अनुसार नेपाली कांग्रेसभित्र १४ औं महाधिवेशन गर्ने कि अपूर्ण संरचनालाई पूर्णता दिने भन्नेमा संस्थापन पक्ष र असन्तुष्ट पक्षबिच मतभेद तिव्र बन्दै गएको छ । सभापति शेरबहादुर देउवा पक्ष दोस्रो चरणको राष्ट्रिय जागरण अभियान अघि नै विधानको व्यवस्था अनुसार विभागसहितका संरचना गठन गर्ने तयारीमा छन् । तर, नेता रामचन्द्र पौडेलसहित असन्तुष्टपक्ष त्यसको विपक्षमा रहेको उल्लेख गर्दै पत्रिकाले विश्लेषणात्मक समाचार प्रकाशन गरेको छ ।
‘दाम्लामा बालबालिका’ शीर्षकमा अन्नपूर्ण पोष्ट् दैनिकले पाल्पाको एक गाउँमा गावैंभरि अपांगता भएका बालबालिकाबारेको समाचारलाई प्राथमिकताका साथ छापेको छ । एकै घरमा पाँच जनासम्म बालबालिका अपांगता भएका व्यक्ति रहेको, अपांगताको परिचय पत्र बनाउनेको संख्या बढिरहेको र गाउँमा ह्विलचियरको व्यवस्था हुन नसकेको समाचारमा उल्लेख छ । यस्तै, दुतावास हेर्ने बहानामा संसदीय टोली साउदी अरेबिया, बेलायत, जर्मनी र फ्रान्स जान लागेको भन्दै सांसदको सयर शीर्षकमा अर्को मुख्य समाचार पनि प्रथम पृष्ठमै छापेको छ ।
नयाँ पत्रिका दैनिकमा जनताले सांसद बनाएका रेशम चौधरीलाई अदालतले कैदी बनाएको र सरकारले साङ्लो लगाएको विषयले प्रमुख समाचारको रुपमा स्थान पाएको छ । टिकापुर हत्या प्रकरणमा अदालतबाट दोषी ठहर भई जन्मकैद सजाय पाएका चौधरीलाई बिहीबार वीर अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालको बेडमा रहँदासमेत उनलाई नेल लगाइएको थियो । चौधरीको नेलसहितको तस्वीर बाहिरिएपछि अमानविय व्यवहार भन्दै जेल र प्रशासनको चर्को आलोचना भएको थियो । यसैगरी, सुत्केरीको रक्तस्राव रोक्ने औषधि नै म्याद गुज्रेका पाइएको समाचार पनि प्रथम पृष्ठमै समेटिएको छ ।
कारोबार दैनिकमा तरकारीको मूल्य घटेको, नेपालमा उत्पादन हुने बिजुली बेच्न सरकार र निजी क्षेत्रको पहल जारी रहेको र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको म्याद थपिए पनि लागत नबढ्ने शीर्षकका समाचारहरु प्राथमिकताका साथ छापिएका छन् ।